मस्को, १७ असार । रसियाले आफ्ना नागरिकलाई टर्कीको भ्रमणमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार सो प्रतिबन्ध फुकुवा गरिएको नयाँ निर्देशिका जारी गरेका हुन् ।
उनले यसका साथै रसियाबाट टर्कीमा हुने आवतजावतलाई थप व्यवस्थित एवम् सुरक्षित बनाउने विषयमा काम थाल्न पनि रसियाली अधिकारीहरुलाई आदेश पनि दिएका छन् ।
टर्कीले रसियाली युद्धक विमान आफ्नो अनुमतिबिना उडेको भन्दै खसालिदिएको थियो । आकाशमा अतिक्रमण गरेको र बारम्बार सचेत गराउँदासमेत नहटेको भन्दै आक्रमण गरी टर्कीले गत वर्ष मात्र रसियाली युद्धक विमान नै खसालेको थियो ।
त्यसयता टर्की र रसियाबीच सम्बन्ध चिसिएको थियो । त्यसका कारण रसियाले कैयौं उत्पादनहरुमा पनि टर्कीमाथि नाकाबन्दी पनि लगाउँदै आएको थियो ।
सन् २०१५ को नोभेम्बरदेखि चिसिएको सो सम्बन्धमा बुधबार नयाँ आयाम थपिएको महसुश गरिएको छ । टर्कीको स्तानबुलमा आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सहयोगको अपिल गरेका थिए ।
यसका लागि टर्कीका राष्ट्रपतिले रसियासँग माफ मागेका थिए । रसियाली युद्धक विमान खसालेको घटना दुःखद भएको भनी उक्त घटनामा मृत्यु भएका विमान चालकका परिवारसँग पनि उनले माफी मागेका हुन् ।
बुधबार टर्कीका समकक्षी एर्डाेगानले रसियाली राष्ट्रपति पुटिनसँग यस्तो प्रतिबन्ध हटाउन र आर्थिक हिसाबको नाकाबन्दी पनि हटाउन आग्रह गरेका थिए ।
उक्त आग्रहपछि राष्ट्रपति भ्लादिमिरले रसियाली अधिकारीहरुलाई टर्कीबाट ल्याउने खाद्यान्न सामग्री, उडान र प्याकेज टुरमा यसअघि लगाएको प्रतिबन्ध सामान्यीकरण गर्दै लैजान आदेश दिएका छन् ।
टर्कीको स्तानबुलमा बुधबार भएको आतङ्ककारी हमलापछि टर्कीका राष्ट्रपतिले विश्वका सबैदेशसँग आतङ्कवादका विरुद्धमा लड्न सहयोगको अपेक्षा गरेका थिए ।
सो अपेक्षाअनुसार राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीसँगको व्यापारिक सम्बन्धलाई सामान्य बनाउने प्रक्रिया सुरु गर्न सरकारलाई निर्देशन दिएका छन् । रासस/एएफपी