सुर्खेत, १७ असार ।
मौसमी तरकारी होस् या त बेमौसमी तरकारीको भाउँ कहिले घटने त कहिले बढ्ने भइरहन्छ । मौसममा भन्दा बेमौसममा तरकारीको भाउँ धेरै नै महँगो हुने हुँदा तरकारी पसलेसँगै ग्राहकहरू समेत मारमा पर्ने गर्छन् ।
वीरेन्द्रनगर नगरपालिका–६ हटियामा तरकारी पसल गरेर बसेका गर्पण मेहेलीका डण्डबहादुर विक सुर्खेतमा तरकारी अरु ठाउँ भन्दा महँगो हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘तरकारी आफै लगाएर बेच्दैनांै, हामी आफै पनि गाउँकै मण्डीबाट तरकारी किन्ने गर्छाै ।’
हटियामा तरकारी पसल गरेर बसेका डण्डबहादुर विकले बजारमा रहेको सब्जी मण्डीबाट तरकारी नल्याउने गरेको बताए । उनी भन्छन्, ‘हामी तरकारी लेकसाइडबाट ल्याउँछौं, यहाँबाट भन्दा पनि हामीलाई लेकसाइडबाट तरकारी ल्याउन सजिलो हुन्छ र सस्तो पनि ।’
तरकारी सङ्कलन केन्द्र धरमपोखराबाट बजारमा तरकारी ल्याउने गरिएको उनी बताउँछन् । उनी भन्छन् ‘आफ्नै गाउँठाउँ भएकाले पनि हामी तरकारी धरमपोखराबाट नै ल्याउने गर्छाै, आफ्नै गाउँठाउँका चिनेजानेका छन् र तरकारी ल्याउँदा उनीहरूलाई पनि फाइदा र हामीलाई पनि
फाइदा हुन्छ त्यसैले तरकारी यहाँ भन्दा पनी गाउँको मण्डीबाट ल्याउँछौं ।’
डण्डबहादुर विकको पसलमा अहिले लोकल आलु किलोको ४० रूपैयाँ, टमाटर किलोको ५५ रूपैयाँ, काँक्रा किलोको ४० रूपैयाँ मूल्य रहेको छ । धरमपोखरा तरकारी सङ्कलन केन्द्रबाट तरकारी ल्याउँदा सस्तो पर्ने र काँक्रा किलोको ३५ रुपैयाँमा ल्याएर बजारमा ४० रुपैयाँ किलो बेच्ने गरेको बताए ।
उनले भने, ‘हामीलाई मण्डीबाट तरकारी ल्याए अनुसार ५ रुपैयाँ मात्रै फाइदा हुन्छ र गाउँबाट डोकोमा ल्याएको तरकारी हामी राख्दैनौं किनभने मण्डीको भाउमै उनीहरुले बेच्ने गर्छन् यसले गर्दा हामीलाई फाइदा हुँदैन ।’
तरकारी बेच्दा तरकारी पसलहरुको प्रतिस्पर्धा हुने गरेको डण्डको अनुभव छ । उनी भन्छन्, ‘तरकारी बेच्दा हामीले ४० रुपैयाँ किलो आलु बेच्यौं र अर्को तरकारी पसलमा यो भन्दा बढी मूल्यमा तरकारी बेच्ने गर्छन् यसरी प्रतिस्पर्धा गरेर तरकारी बेच्दा तरकारीको भाउँ बढ्दै जान्छ ।’
यस्तै वीरेन्द्रनगर–६, हटिया मै तरकारी पसल गर्ने मञ्जु मल्ल पनि सब्जी मण्डीबाट ल्याउँदा नै आफूलाई तरकारी सस्तो पर्ने गरेको बताइन् । उनले भनिन्, ‘हामीलाई गाउँबाट डोकोमा ल्याएको तरकारी भन्दा मण्डीबाट ल्याएको तरकारी नै सस्तो हुन्छ, गाउँबाट तरकारी ल्याए भनेपनि हामीले बेच्ने भाउँ अनुसार नै बेच्ने गर्छन् ।’
मल्लले सधैं सब्जी मण्डीबाट तरकारी ल्याएर आफूले इच्छाएको भाउँमा तरकारी बेच्ने गरेको बताइन् । उनी भन्छिन्, ‘तरकारी हामी आफ्नै मर्जीको भाउ लगाएर बेच्छौं, तरकारी ल्याउँदा पाँच, दश रुपैयाँ नाफा त खानै पर्यो नि ।’
प्रकाशित मिति: १७ असार २०७३, शुक्रबार १२:५५