जाजरकोट, १७ असार ।
नेपालमा जाडो समयमा बसाई सरी आउने हिउँदे आगन्तुक चरा जलेवाको पहिलो गुँड तथा बच्चा जाजरकोट र रुकुमको सिमाना बग्ने भेरी नदीमा पत्ता लागेको छ ।हिउँद यामको सुरुवात सँगै बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न ताल, तलैया र ठूला नदीहरुमा बसाई सरी आउने यस चराको प्रजन्न नेपालमा पहिलोपटक जाजरकोट जिल्लाको रग्दा र रुकुम जिल्लाको गोतामकोट सिमामा बग्ने भेरी नदी किनारमा फेला परेको हो ।
नेपाल पन्छी संरक्षण संघ र जिल्ला पशुसेवा कार्यालय जाजरकोटका पशुस्वास्थ्य प्राविधिक गोबिन्द बहादुर सिंहको टोलीले जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा दुर्लभ गिद्ध र चिर कालीजको बासस्थान अनुगमनका क्रममा जलेवाको बासस्थान फेला पारेका हुन् । समुन्द्र सतहबाट करिव १२ सय ५० मिटरमा अवस्थित उक्त स्थानमा जलेवाका आँठ ओटा गुँड भेटिएका छन् ।
नेपालमा भदौ मध्य देखि चैत सम्ममा देखिने हिउँदे आगन्तुकको रुपमा चिनिएको यस पन्छीले नेपालमा संभवत पहिलो पटक गुँड बनाई चल्ला कोरलेकोे नेपाल पन्छी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले बताए ।
खाँसगरी उत्तरी ध्रुवमा हिमपातको सुरुवातसँगै अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपाल आउने जलेवाले उक्त क्षेत्रमा गुँड बनाई बच्चा कोरलिरहेको छ । उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउने जलेवा ताल र ठूला नदीहरुमा बस्ने नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत ज्योतेन्द्र ठकुरी बताउँछन् ।
जाजरकोटको उत्तरी बारेकोट क्षेत्रमा लोपोन्मुख गिद्ध, विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित पन्छी चीर कालीज, डाँफे, मुनाल लगायतका विश्वमै दुर्लभ चराहरुको बासस्थान भएकोले बर्डलाइफ इन्टरनेशनलको मापदण्ड अनुसार चरा र जैविक विविधताकालागि महत्वपूर्ण क्षेत्र घोषण गर्न लागिएको नेपाल पन्छी संरक्षण संघकी वरिष्ठ संरक्षण अधिकृत ईशाना थापा बताउँछिन् ।
नेपालको मध्य पहाडमा गँुड बनाई बस्ने चार प्रजातीका गिद्ध मध्ये चारै प्रजातीका गिद्धहरु सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान भएको हाल सम्मको अध्ययनमा जाजरकोट एक मात्र जिल्ला भएको अनुसन्धानमा संग्लग्न नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले बताए ।
माछाहरुलाई प्रमुख आहार बनाउने जलेवा करिब ८० देखि १०० सेन्टीमिटिरसम्मको हुन्छ । बढी कालो र खैरो हुने यो चराले समुहमा गुँड बनाउने गर्दछन् । विश्वमा पाइने ३३ प्रजातीका जलेवा मध्ये नेपालमा दुई प्रजातीका जलेवा पाइन्छन् । नेपालमा हालै यस चराले चल्ला कोरलेको पत्ता लाग्नुले पनि नेपालमा भौगोलिक विकटता र बासस्थानमा रहेको विविधिकरणका कारण चराहरु सम्बन्धि अझै धेरै तथ्यहरु पत्ता लाग्न नसकेको झल्काउँछ ।
प्रकाशित मिति: १७ असार २०७३, शुक्रबार १०:३७