मोरङ, १७ असार ।
मिर्गाैलाको रोगबाट पीडित मोरङको पथरी शनिश्चरे–८ की सीता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेका छन् ।
अट्ठाइस वर्षीया श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गर्नुभएको हो । सात वर्षदेखि मिर्गाैला समस्याबाट पीडित भएकी श्रेष्ठको हाल काठमाडाँैस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँले अस्पताल शय्याबाटै विराटनगरका सञ्चारकर्मीलाई टेलिफोनमा आफ्नोे उपचारमा धेरै रकम लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका भन्दै आफूलाई बचाइदिन सबैमा आग्रह गरेका छन् ।
वीर अस्पतालको महिला वार्डको ५ नम्बर शय्यामा रहेकी उनलाइ चिकित्सकले कम्तीमा रु सात लाख लाग्ने बताएका छन् । श्रेष्ठलाई डा राजेन्द्र अग्रवाल र डा रजनी हाडाले उपचार गर्दै आएका छन् । उनको अहिले हप्ताको एकपटक औषधियुक्त सुई लगाउनुपर्ने भएको छ । पीडित श्रेष्ठका अनुसार एकपटक एउटा सुई लगाउँदा ५० हजार रुपैयाँ खर्च लाग्ने र यो सुई ६ महिनासम्म लगाउनुपर्ने पीडितको भनाइ छ ।
उनले यसअघि विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराए पनि सम्भव नभएपछि लामो समयदेखि वीर अस्पतालमा उपचार गराउँदै आएका छन् । निम्नवर्गीय परिवारकी श्रेष्ठले उपचारका लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेका छन् ।
मधुमल्लाका बाढीपीडितलाई राहत
यसैबीच, मोरङको मधुमल्लामा गएको बक्राहा खोलाको बाढीबाट विस्थापित भएकाका लागि राहत सङ्कलन अभियान तीव्र पारिएको छ । अभियानकर्मी तेजन खड्काका अनुसार न्यानो अभियान उर्लाबारीको आयोजना तथा चलचित्र पत्रकार सङ्घ पूर्वाञ्चल, बुलेट गाइज इटहरा, उज्यालो समाज दुर्गापुरी, दीपज्योति क्लब, चिन्तन चौतारी मधुमल्ला, मङ्गलबारे युवा समाज लगायतको सहकार्यमा राहत अभियान तीव्र पारिएको हो ।
यसै क्रममा बिहीबार बेलुकासम्म मोरङको पथरीमा राहत सङ्कलन गरिएको छ । पथरी बजारबाट ४९ हजार ४३ रुपैयाँ सङ्कलन भएको छ । पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनकुमार तामाङ, चलचित्र पत्रकार सङ्घ पूर्वाञ्चल शाखाका अध्यक्ष सन्तोष राई, पत्रकार हरि कोइराला, विजय खम्बु, गोपाल काफ्ले लगायतले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।
बजारका व्यापारी तथा यात्रुले लत्ताकपडा, चाउचाउ, कपडा, स्टेसनरीका सामग्री पनि सहयोग गरेको न्यानो अभियानका संयोजक पूर्ण सिंह लिम्बूले जानकारी दिए ।
राहत सङ्कलनपछि कार्यक्रममा समाजसेवी जयधर्म आचार्य र इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले कार्यक्रमको प्रशंसा गरे । हप्तादिनअघि मधुमल्लाका विभिन्न वडामा नुनसरी बक्राहा खोलाको बाँध भत्किई बस्तीमा पसेको थियो । बस्तीमा पसेपछि झन्डै दुई सय घरपरिवार विस्थापित भएका थिए ।
रासस
प्रकाशित मिति: १७ असार २०७३, शुक्रबार ०८:१६