अस्ट्रेलिया, १५ असार । कलाकार र चलचित्रका लागि महत्वपूर्ण बजारका रुपमा देखिएको अस्ट्रेलिया चाडपर्व र कला संस्कृतिका लागि पनि त्यत्तिकै चर्चामा आउने गर्छ । चाहे नयाँ वर्ष होस या दशै, तिहार अनि तीज विशेष कार्यक्रम र कलाकारको मेला लाग्ने गर्छ सीड्नीमा ।
अहिले प्रवासी बजार महिलाहरुको महान चाँड तीजले रंगिन थालेको छ । जताततै चर्चा तीजकै छ । प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ । विशेषगरी तिथि मिति भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडी विदाको दिन पारेर मनाइने गर्छ चाडबाड ।
यस पटक सीड्नीमा बीएमएस फिल्म्सको व्यवस्थापन र मोर्टगेट अम्पायरको सहकार्यमा आगामी जुलाइ तीस तारिखका दिन तीज धमाका हुने भएको छ । सिड्नीको हर्षभिलस्थित मराना अडोटोरियममा सन्चालन हुने तीज धमाकाका लागि नेपालबाट चर्चित लोकगायक पशुपती शर्मा र मन्जु पौडेल सीड्नी आउने भएका छन भने स्थानीय लोकगायक नरेश रेग्मीले आफ्नो गायकी प्रस्तुती गर्नेछन् ।
प्रवासमा कला संस्र्कतीको जर्गेनाका साथै जमघट अनि आपसी सदभावको माध्यम हो सांस्कृतिक कार्यक्रम, आयोजक वीरेन्द्र मल्लले बताए । कार्यक्रममा विशेषत प्रवासमा बस्ने नेपाली दिदी बहिनीहरुको लागि विशेष तीज गीतका साथै अन्य लोकगीत र संगित पस्कने कार्यक्रम रहेको मल्लले बताए ।
चाडबाड र पर्वहरुसँग हाम्रो गीत संगितको पनि साइनो गाँसिएको छ, हाम्रो नेपाली समाज तिजमा माइतीका सम्झना अनि राता पहिरनका कथा अनि व्यथा गाइने र सुनिने गरिन्छ । हामीले प्रवास रहेर पनि आफ्नो चाडबाड र रीती रिवाज अनि परम्परालाई कायमै राख्नु महत्वपुर्ण कुरा हो, लोक गायक नरेश रेग्मीले सुनाए ।
प्रकाशित मिति: १५ असार २०७३, बुधबार १७:२२