काठमाडौँ, १५ असार । नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक आज बिहान परराष्ट्र मन्त्रालय, सिंहदरबारमा प्रारम्भ भएको छ ।
बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल भइरहेको छ ।
त्यसैगरी, बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको पुनःनिर्माणमा जापानी मद्दत एवम् क्षेत्रीय र विश्वव्यापी चासोका विषयमा पनि विचारविमर्श हुने कार्यसूची छ ।
बैठकमा जापानी पक्षको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदासहित नेपालका लागि जापानका राजदूत मासासी ओगावा र यहाँस्थित जापानी राजदूतावासका उच्च अधिकारी सहभागी छन् ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवम् उत्तरपूर्व एसिया महाशाखाका प्रमुख झवीन्द्रप्रसाद अर्यालले गरेका छन् ।
बैठकमा परराष्ट्र, शिक्षा, स्वास्थ्य, अर्थ, गृह, कानुन, भौतिक पूर्वाधार, ऊर्जा, उद्योग, वाणिज्य, पर्यटन, वन, राष्ट्रिय योजना आयोग र नेपाल पुनःनिर्माण प्राधिकरणका वरिष्ठ अधिकारी संलग्न छन् ।
प्रकाशित मिति: १५ असार २०७३, बुधबार १०:१२