बर्दिया, १४ असार ।
ह्विलचियर, बैशाखी तथा अन्य सहयोगी सामग्री प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिले धेरैजसो शैक्षिक सङ्घसंस्था, कक्षा कोठामै गएर शिक्षा लिन पाउँदैनन् ।
यस्तो अवस्थाले उनीहरू सार्वजनिक निकायले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित हुन्छन् । भवनका खुड्किला, भ¥याङ आदि चढ्न कठिन हुन्छ अपाङ्गता भएका व्यक्तिले दैनिक रूपमा भौतिक कठिनाइको सामना गर्न नपरोस् भनेर विसं २०६९ मा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ सार्वजनिक ग¥यो ।
उक्त निर्देशिकामा सरकारी भवन विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, आदिजस्ता स्थान अपाङ्गतामैत्री हुनुपर्ने उल्लेख छ । टेलिभिजन, रेडियो जस्ता सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिको पहुँच वृद्धि गर्न आवश्यक मापदण्ड तोकी सो निर्देशिका तयार गरिएको थियो ।
निर्देशिकामा उल्लेख गरिएअनुसार आजसम्म पनि पूर्ण रूपमा काम भएको नपाइएकाले सोमबार बर्दिया अपाङ्गता क्षेत्रमा काम गर्ने बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले जिल्ला प्रशासन कार्यालय, जिविस, जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयमा अपाङ्गतामैत्री भवनको माग गरेको छ ।
सो अवसरमा प्रजिअ विष्णुबहादुर थापाले अब आगामी दिनमा जिल्लास्तरीय र जिल्ला प्रशासन कार्यालयमा गरिने सेवा सुविधाका बारेमा सहकार्य गरेर जाने प्रतिबद्धता जनाए ।
रासस
प्रकाशित मिति: १४ असार २०७३, मंगलवार ०८:०५