जाजरकोट, १३ असार ।
जिल्लाको शैक्षिक सुधारका लागि जिल्ला शिक्षा कार्यालय जाजरकोटले प्रधानाध्यापकहरुको सम्मेलन गरेको छ । सम्मेलन पछि प्रधानाध्यापकहरुले शैक्षिक सुधारका लागि ६ बुँदे प्रतिवद्धता गरेका छन् । सम्मेलनमा सहभागि जिल्ला स्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा कार्यालय बीच २० बुँदे कार्यसम्पादन करार सम्झौता समेत भएको छ ।
प्रधानाध्यापकले विद्यालयमा सवै शिक्षक, शिक्षिकाको नियमित उपस्थिति कायम गरेर विद्यालयको प्रभावकारी पठनपाठनको सुनिश्चितता गर्ने, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाई उपलब्धि अभिवृद्धि गर्ने, विद्यालयका शिक्षक कर्मचारी र विद्यालय समुदाय बीचको सम्वन्धलाई सुमधुर बनाउने प्रतिवद्धता गरेका छन् ।
त्यस्तै विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन गरी सो को अधिकतम् नतिजा प्राप्त हुने गरी पारदर्शी रुपमा खर्च गर्ने, विद्यालयमा एक वर्ष भित्र न्यूनतम् सक्षमताको अवस्था (कक्षाकोठा, शिक्षक, पाठ्यपुस्तक, छात्राशौचालय, बुक कर्नर) को सुनिश्चितता गर्ने र जिल्ला शिक्षा कार्यालयसँग गरिएको २० बुँदे कार्य सम्पादन करारको कार्यान्वयन गर्ने प्रधानाध्यापकहरुलाई प्रतिवद्धता गराइएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए ।
सम्मेलनमा उपस्थित प्रधानाध्यापकहरुलाई शैक्षिक सुधारका लागि विद्यालयमा वार्षिक कार्य तालिका र वार्षिक शैक्षणिक योजना बनाई कार्यान्वयन गर्ने, निरन्तर विद्यार्थी मुल्यांकन प्रणालीलाई कार्यान्वयनमा गर्ने, पाठ्यपुस्तक र छात्रवृत्ति लगायतका रहेका छन् ।
त्यसैगरी अनुदानको पारदर्शी खर्च गर्ने, एक वर्षमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन गर्ने, कोर्स पुरा गर्ने, विद्यालय सुधार योजना बनाई कार्यान्वयनमा लैजाने, सिकाई उपलब्धि तथा परीक्षाफल विश्लेषण र सिकाइ उपलब्धि अभिवृद्धिको कार्ययोजना बनाई लागु गर्ने कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएको जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिए ।
त्यस्तै विद्यालय परिसर भित्र फलफुल र फुलवारी बगैचा स्थापना गर्ने, विद्यालयलाई स्वच्छ, सफा र सुन्दर बनाउने, शैक्षिक तथ्याङ्कहरुको प्रमाणिकरण गर्ने लगायतका २० बुँदे कार्य सम्पादन करार सम्झौता गरिएको छ ।
प्रधानाध्यापकहरुले कार्यसम्पादन सम्झौता र प्रतिवद्धता कार्यान्वयन गरेको खण्डमा जिल्लाको शैक्षिक सुधारमा निकै टेवा पुग्ने जिल्ला शिक्षा अधिकारी सिहको भनाई छ । शिक्षकहरु पठनपाठनमा ध्यान नदिने, विद्यालय नजाने, खेताला शिक्षक राख्ने, शिक्षक राजनैतिक दलका कार्यकर्ता बन्ने, विद्यालयमा गएको बजेट सदुपयोग नहुने, छात्रवृत्ति र पाठ्यपुस्तकको रकम वितरण गर्ने लगायतका वेतिथिका कारण जिल्लाको शैक्षिक स्थर खस्कदै गएपछि जिल्ला शिक्षा अधिकारी सिंहकै पहलमा चालु शैक्षिक वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरी शैक्षिक सुधारका कामहरु सञ्चालन भैरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्लामा २० उच्च मावि, ४४ मावि, ८९ निमावि र २ सय ८२ प्रावि रहेका छन् । उच्च मावि, मावि र निमाविकाका प्रधानाध्यापकहरुको सम्मेलन सोमबार सदरमुकाम खलंगामा सम्पन भएको छ भने प्राविका प्रअको सम्मेलन मंगलवार हुनेछ । शैक्षिक सुधारका लागि शैक्षिक विकृति विसंगति रोक्न कार्यालयलाई सहयोग गर्ने जिल्ला स्थित राजनैतिक दलले समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १३ असार २०७३, सोमबार १६:४५