काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भूकम्पपीडित जनतालाई सरकारबाट एकमुष्ट रु दुई लाख अनुदान दिने प्रतिबद्धता नआएको भन्दै साेमबार पनि व्यवस्थापिका–संसद्को बैठक अबरुद्ध गरेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाए । त्यसलगत्तै सभामुखले काँग्रेसका सांसद डा रामशरण महतलाई बोल्न समय प्रदान गरिन् ।
सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा नेपाली काँग्रेसका नेता एवम पूर्व अर्थमन्त्री डा रामशरण महत भूकम्प पीडितहरुलाई एकमुष्ट रु. दुई लाख दिनु पर्ने धारणा राख्दै ।
तस्बिर : रत्न ठनतसेष्ठ, रासस ।
नेता महतले सरकारले आफ्नो पार्टीले भूकम्पपीडितलाई आवास निर्माणका लागि एकमुष्ट रुपमा रु दुई लाख अनुदान उपलब्ध गराउन राखेको मागलाई बेवास्ता गरिएकाले बाध्य भएर बैठक अवरुद्ध गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताए ।
भूकम्पपीडितका लागि हालसम्म एउटा घर पनि निर्माण नभएको बताउँदै उनले सरकारको पुनःनिर्माणको काम गराई कछुवा गति रहेको उल्लेख गरे । उनले पुनःनिर्माणको काममा ढिलासुस्तीमा मात्र होइन त्यस सम्बन्धमा आफूहरुले उठाएका मागलाई सम्बोधन गर्न वार्ताको पहलसमेत नगरेको आरोप लगाउँदै भने – “सरकारको अकर्मण्यताका कारण हामीले संसद् अवरुद्ध गरी विरोध गर्नुपरेको हो ।”
उनले भने – “पीडितलाई दिने भनिएको रकम दुरुपयोग नहोस् भन्नका लागि विगतको काँग्रेस नेतृत्वको सरकारले किस्ताबन्दीमा दिने भनेको हो, तर एक वर्षसम्म एक किस्ता पनि रकम नदिनु भन्ने कार्यविधिमा छैन ।”
काँग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको काम तदारुकताका साथ भएको र त्यसको विश्व समुदायबाटै प्रशंसा पनि भएको बताउँदै नेता महतले कसैले पत्याउनै नसक्ने गरी नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरेर रु साढे चार खर्बको प्रतिबद्धता दिलाउन सफल भएको जानकारी स्मरण गराए ।
उनले भने – “भूकम्प गएको १५ महिना बितिसक्दा बल्ल एक लाख भूकम्पपीडितसँग आवास निर्माणका लागि सम्झौता गर्नु र पाँच हजारले मात्र पहिलो किस्ता रकम प्राप्त गर्नुले सरकारको काम कछुवा गतिमा रहेको पुष्टि हुन्छ ।”
चालु आवको बजेटमा निजी आवास निर्माणका लागि रु ५० अर्ब रकम विनियोजन भएकामा हालसम्म रु २४ करोडमात्र खर्च भएको बताउँदै उहाँले यो गतिमा पुनःनिर्माणको काम पाँच वर्षमा पनि सम्पन्न नहुने ठोकुवा गरे ।
सरकारको काम गराइबाट जनताले आफैँ घर बनाउन समेत नपाएको उनको भनाइ थियो ।
काँग्रेस सांसदहरुको विरोध कायम रहँदा सभामुख घर्तीले भनिन् – “तपार्इंहरुले उठाउनुभएको विषय सिङ्गो संसद्लाई ध्यानाकर्षण भएको छ । यसको उचित समाधान भनेको संसद्को प्रक्रिया नै हो । मागका सम्बन्धमा प्रधानमन्त्रीले सविस्तार जानकारी दिने भन्नुभएको छ ।”
सभामुखले “प्रधानमन्त्रीलाई त्यसका लागि मौका दिऔँ चित्त बुझेन भने पुनः प्रक्रियाका आधारमा अघि बढौँला” भने पनि काँग्रेस सांसदहरुको विरोध कायमै रह्यो र अन्ततः सभामुख घर्तीले बैठक अपराह्न ३ः३० बजेसम्मका लागि स्थगन भएको घोषणा गरिन् । रासस