काठमाडौँ, १२ असार । सेयर बजार अाइतबार १८ अंकले वृद्धि भई एक हजार ६८४ विन्दुमा पुगेको छ ।
बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६८८ विन्दुमा पुगेको थियो । तर बजार बन्द हुनु अगाडि नेप्से पुुनः घटेर एक हजार ६८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
अाइतबार कुल कारोबार रकम भने घटेको छ । स्टकका अनुसार कुल १३५ कम्पनीको रु एक अर्ब ६० करोड ५७ लाख ६३ हजार ५८ को करोबार भयो भने ६३ लाख ९३ हजार ५८२ कित्ता सेयर किनबेच भयो ।
अाइतबार सबैभन्दा बढी कारोबार स्टयान्डर्ड चार्टर्ड बैंक लिमिटेडको रु तीन हजार ७७० मूल्यमा कारोबार भयो भने एभरेष्ट बैंक लिमिटेडको तीन हजार ४१०, एसबीआइको रु एक हजार ८८९ मूल्यमा कारोबार भयो । बैकिङ समूह शक्तिशाली बन्दा सेयर बजारको परिसूचक बढेको हो । सो समूह ३३ अंकले वृद्धि भयो भने बिमा र जलविद्युत् समूह ओर्लिए । तर त्यसले बजारलाई खासै प्रभाव पारेन । स्टकका अनुसार बिमा ३०, जलविद्युत् ९, उत्पादन समूह ३६ र होटल समूह १० अंकले घटेको छ ।
बिमा समूहको सबैभन्दा बढी अर्थात् रु ९१ करोड बराबरको सेयर कारोबार भयो भने वाणिज्य बैंकको रु ४६ करोडमा सीमित भयो । अाइतबार लुम्बिनी जनरल इन्स्योरेन्सेको रु ११ करोड २२ लाख मूल्यको सेयर खरिद किक्री भएको थियो । रासस