सुलिचौर (रोल्पा), ११ असार । सुलीचौरका प्रहरी जवानले अबदेखि रुखमुनि बसेर जनताको सेवा गर्नु नपर्ने भएको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगमा दुई वर्षअघि सुलीचौर इलाका प्रहरी कार्यालय निर्माण भइसकेको छ । कार्यालय निर्माणपछि यहाँका जनता र प्रहरीबीच विकास साझेदारी भइरहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मणिराम बुढाथोकी बताउँछन् ।
तत्कालीन नेकपा ९माओवादी०ले सुरु गरेको सशस्त्र युद्धको सुरुमा नै ध्वस्त पारिएको सो चौकीको पुनःनिर्माण २०७० साल असोज ४ गते भएको हो । मन्त्रालयको रु एक करोड ३८ लाख ४३ हजार १३४ को लागतमा सो कार्यालयको निर्माण भएको शान्ति कोषका सचिव वेदराज फुयाँलले जानकारी दिए ।
सुलीचौर लिवाङपछि दोस्रो प्रमुख बजार मानिन्छ । रोल्पा राजनीतिक हिसाबले सर्वत्र चासोको थलो हो । जनयुद्धको उद्गमस्थल रोल्पालाई लिने गरिन्छ । इप्रका सुलिचौर अहिले बलात्कार, हत्या तथा यौन हिंसा एवम् दुव्र्यवहार साथै बालविवाह, बहुविवाह, अनमेल विवाह, जबर्जस्ती विवाह तथा बोक्सीको नाममा हुने हिंसा, कुरीति, कुप्रथा र अन्धविश्वास हटाउन के गर्न सकिन्छ भन्ने विषयमा पैरवी गर्ने थलो बनेको छ ।
माओवादीद्वारा जनताको दुश्मन बस्ने थलो भनिने इप्रका सुलिचौर चौकी अहिले सामाजिक, आर्थिक, तथा कुरीति र अन्धविश्वास हटाउन जनताको बहस गर्ने थलो बन्दै गएको प्रति नेपाल पत्रकार महासङ्घ रोल्पाका जिल्ला सदस्य तीजा विष्ट दङ्ग छन् ।
राज्य पक्ष र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच शान्ति सम्झौता भई संविधान निर्माण प्रक्रियामा संलग्न हुने सहमतिपछि गाउँगाउँमा ध्वस्त भएका प्रहरी चौकी, प्रहरी सेवा केन्द्र निर्माणमा जनता र प्रहरीबीच साझेदारी भावनाको विकास भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद घर्तीको भनाइ छ ।
जनयुद्धका क्रममा मध्यपश्चिमका तीन अञ्चल सबैभन्दा धेरै क्षतिग्रस्त भएको थियो । तीन अञ्चलमा आंशिक र पूर्ण क्षति गरी २२४ वटा प्रहरीका विभिन्न सेवा प्रदायक संस्था ध्वस्त भएका थिए जसका कारण प्रहरी गाउँ जान सकेको थिएन । मध्यपश्चिमका तीन अञ्चल राप्तीका रुकुम, रोल्पा, दाङ, सल्यान र प्युठानमा ८४, भेरीका बाँके, बर्दिया, दैलेख, सुर्खेत र जाजरकोटमा ८८ तथा कर्णालीका हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पामा ५२ प्रहरीको विभिन्न सेवा प्रदायक निकाय ध्वस्त भएका थिए ।
अहिलेसम्म जम्मा ६० सेवा प्रदायक निकायको मात्र पुनःनिर्माण भएको नेपालगन्ज क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् इन्जिनियर रोशन सारुले जानकारी दिए । उनका अनुसार अपवादबाहेक आंशिक क्षति भएका प्रहरीको सेवा प्रदायक संस्थाबाट जनतालाई सेवा दिन सक्ने अवस्था छैन, त्यसैले जनताको सेवालाई चुस्तदुरुस्त राख्न बाँकी १६४ प्रहरीका सेवा प्रदायक निकायको निर्माण आवश्यक छ ।
सुलीचौर इलाका अन्तर्गत १० गाविस जेलवाङ, धोजगाउँ, खुङ्ग्री, मिझिङ, अरेस, तेवाङ, सिर्प, घुम्चाल, बडाचौर, थाङ पर्छन् । यहाँका जनतालाई यहाँ उत्पादित अन्नले तीन महिना मात्र खान पुग्ने भएपछि प्रहरी र जनताको सामूहिक सक्रियतामा घरेलु मदिरा नष्ट गर्ने अभियानको थालनी गरिएको छ । यसबाट समाजमा हुन सक्ने आपराधिक घटनामा समेत कमी आएको बताइएको छ । अन्नपात नकुहाइने सहमतिपछि यहाँका ११ गाविसमा घरेलु मदिरा नष्ट गरिएको चौकीमा कार्यरत प्रहरी नन्दबहादुर कैँलाले जानकारी दिए । रासस