काठमाडाैँ, ११ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान संविधानको जगमा टेकेर संविधान संशोधन हुन सक्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, निर्वाचन लगायत विषयलाई राष्ट्रिय सहमतिको आधार बनाएर दलहरुबीच सहमति भए सरकारको नेतृत्व जसले गरे पनि हुने विचार व्यक्त गरे ।
उनले राष्ट्रिय सहमति मुलुकको आवश्यकता भएको र मुलुकको समृद्धि, स्थिरता र संविधानको कार्यान्वयनका लागि प्रमुख दल एक ठाउँमा आउर्नैपर्ने बताउँदै प्रमुख प्रतिपक्षी दलले भूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख दिने माग राखेर सदन अवरोध गर्नाको अर्थ छैन भने ।
उनले भने – “प्रधानमन्त्रीले संसद्मार्फत जनतालाई जानकारी दिन नपाउने ? विपक्षी भएर जे मन लाग्यो, त्यो विषय उठाउन मिल्दैन ।” उनले नेपाली काँग्रेसले संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानको पुनःलेखनको सम्भावना नरहेकाले मधेसी मोर्चालाई त्यस्तो माग नगर्न आग्रह गर्दै अहिलेको समस्या समाधानका लागि सरकार संवेदनशील नभएको आरोप लगाए ।
नेकपा(माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले मधेस आन्दोलन तथा जनजातिका माग र विस्तृत शान्ति सम्झौताका विषयमा विगतमा गरिएका सहमति कार्यान्वयनका लागि सबै दल एक जुट हुनुपर्नेमा जोड दिए ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारका तर्फबाट दुई पत्र प्राप्त भएको जानकारी दिँदै अबको वार्तामा विपक्षी दलको समेत सहभागिता हुनुपर्ने माग गरे । रासस