काठमाडौँ, ११ असार । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ ।
अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो ।
सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी रु १० देखि एक हजारसम्म बेच्ने गरेको छ ।
समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाढी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ उक्त प्रतिष्ठान स्थापना गरि समाजसेवा गरेको बताउनुभयो ।
तपाईंको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । माया बाँडौ खुसी बढाउँ भन्ने नाराका साथ सामाखुसी टाउनप्लानिङमा स्थापना भएको उक्त प्रतिष्ठानले भूकम्पमा निधन भएका परिवारको छोराछोरीलाई समेत शिक्षादीक्षा दिँदै आएको छ ।
प्रतिष्ठानले स्वदेशमा कसरी रोजगारी स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रयोग गर्न मिल्ने सामानलाई प्रयोग गरी दुखी जनताको सेवा गर्दै आएको छ । सो प्रतिष्ठानले मर्मत गर्न मिल्ने सामानलाई मर्मत गर्ने तथा मर्मत गर्न नमिल्ने सामानलाई प्रयोग नगर्ने गरेको छ ।
घर, कार्यालयमा जुनसुकै सामान प्रयोग गर्दा किफायती उपयोग गर्नुपर्छ । प्रशोधन, पुनः प्रयोग गर्न सकिन्छ भने पुनः प्रयोग गर्नुपर्छ भन्ने यो संस्थाको मूलमन्त्र हो । गत वर्षमात्र उक्त प्रतिष्ठानले एक वर्षमा एक हजार ५०० केजी कपडा ल्याएकोमा २५ प्रतिशत प्रयोगमा ल्यायो । विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट रु एक लाख २० हजार आम्दानी भएको सुखावती फाउन्डेसनका कोषाध्यक्ष कमला गुरुङले बताउनुभयो । उहाँले सो पसलमा स्वयम्सेवकका रुपमा काम गर्नुभएको छ ।
उहाँजस्तै केशकुमारी राना, लक्ष्मीदेवी गुरुङ, रञ्जना तामाङ, कल्पना गुरुङ, संगु सुब्बाले पनि स्वयम्सेवकका रुपमा काम गर्नुभएको छ । “दश बीस रुपैयाँमा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ भनेर किनमेल गरेर जान्छन्,” कोषाध्यक्ष गुरुङले भन्नुभयो ।
यस्तो पसल उपत्यका बाहिर फैलाउने उद्देश्य रहेको प्रतिष्ठानका महासचिव राजेन्द्रबहादुर लामाले बताउनुभयो । “खाली खुट्टा तरकारी बेच्दै आएको व्यक्तिदेखि माग्दै आएको व्यक्तिसम्मले रु १० मा जुत्ता र रु १० को पाइन्ट लैजाने गरेका छन्,” लामाले भन्नुभयो । कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ ।
उक्त पसलमा रु १० देखि ८० सम्मका सर्ट तथा रु ४० देखि १०० सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् । प्रतिष्ठानमा १३ स्वयम्सेवक छन् । दुई जनाले रोजगारी पाएका छन् ।
प्रतिष्ठानले भूकम्प गएको समयमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका पाँच हजारभन्दा बढी घरपरिवारलाई ब्युटिफुल स्टोर कोरियाको सहयोगमा सिरक वितरण गरेको थियो । ह्याप्पी फ््याक्ट्री कोरियाको सहयोगमा नुवाकोटको गामबँेसी निम्न माध्यमिक विद्यालयको भवनसमेत निर्माण गरेको छ । रासस
प्रकाशित मिति: ११ असार २०७३, शनिबार १२:२२