कञ्चनपुर, ११ असार ।
वृक्षारोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वन कार्यालय कञ्चनपुरले नर्सरी तयार गरी चार लाख ६५ हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ ।
सिसौ, मसाला, टिक, कोइराला, टँकी, बकाइनो, अर्जुन, विजयसाललगायतका प्रजातिका बिरुवा उत्पादन गरिएको छ ।
सामुदायिक वन, निजी जग्गा, राष्ट्रिय वनमा वृक्षारोपणका लागि बिरुवा उत्पादन गरिएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार कुण्डामा ५० हजार, नवलपुरमा ५० हजार, ब्रह्मदेवमा एक लाख ५० हजार, जिल्ला वन कार्यालयमा एक लाख, वाणिमा ४० हजार र वेदकोेटमा ७५ हजार गरी चार लाख ६५ हजार बिरुवा उत्पादन गरिएका छन् । बिरुवा उत्पादन गर्न झन्डै रु ३० लाख बढी खर्च गरिएको छ ।
राष्ट्रिय वनको बाँझो रहेको २५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना बनाएका छौँ कार्यालय प्रमुख शर्माले भन्नुभयो, “अन्य बिरुवा स्थानीयको मागको आधारमा वितरण गरिने छ ।”
स्थानीय बासिन्दाको माग १०/१२ लाख बिरुवा भए पनि मागअनुरुप बिरुवा उत्पादन गर्न नसकिएको उल्लेख गर्दै कार्यालय प्रमुख शर्माले सीमित बजेटका कारण बढी बिरुवा उत्पादन गर्न नसकिएको बताए ।
बिरुवा अनुदानमा प्रतिव्यक्ति १० देखि ५० दरले वन कार्यालयले उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्रिय वनको पैदावारले बढ्दो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले निजी क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति लिइएको छ ।
कार्यालय प्रमुख शर्माले भने, “बिरुवा हुर्काएर सर्वसाधारणले थोरै मेहनतमा बढी प्रतिफल पाउने भएकाले पनि बिरुवा रोप्नका लागि सर्वसाधारणको सहभागिता बढाउन जरुरी छ ।”
वृक्षारोपणको कार्यले वन विनास रोकी वातावरणीय सन्तुलन कार्यम गर्न, जैविक विविधताको संरक्षण गर्न र जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्ने उनले बताए ।
वृक्षारोपणका लागि वन कार्यालयले दीर्घकालीन योजना बनाई एक महिनाभित्रै लागू गर्ने तयारी समेत गरेको छ । गत वर्ष वन कार्यालयले चार लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरेको थियो ।
रासस
प्रकाशित मिति: ११ असार २०७३, शनिबार ०९:११