पर्वत, ११ असार ।
जिल्लामा भित्रिने विकास बजेटको सबैभन्दा ठूलो हिस्सा सडक निर्माणमा खर्चिने गरिएको छ ।
त्यति मात्र हैन अन्य शीर्षकमा आएको बजेट समेत रकमान्तर गरेर सडकमै लगानी गरिन्छ । सडक सबैले उपयोग गर्ने भन्दै लक्षित वर्गका लागि आएको बजेट समेत स्थानीय राजनीतिक दलको मिलेमतोमा शीर्षक मिलाएर सडकमै लगाइन्छ । लाग्छ विकासको मुख्य पूर्वाधार भनेकै सडक हो ।
ठाउँ विशेष र आवश्यकताको पहिचान गरेरभन्दा पनि घरघरमा सडकको सुविधा पु¥याउने होडबाजी पनि चलेकै छ । तर के गर्नु सिमसिम पानी पनि पर्न हुँदैन सडकमा सवारी गुड्नै छाड्छन् ।
वार्षिक करोडौँ खर्चेर खोलिएका नयाँ ट्र्याक र मर्मत गरिएका सडक सामान्य वर्षाका कारण पनि अवरुद्ध हुने गरेका छन् । यो नियति यस वर्ष पनि फेरि दोहोरिएको छ, यहाँ । मनसुन सुरु भएका केही दिनमै जिल्लाका ग्रामीण क्षेत्रका मुख्य सडक बन्द भएका छन् ।
अहिले सदरमुकाम वरपरका केही सडकमा मुस्किलले सवारीका साधन सञ्चालन भए पनि टाढाको दूरीका बासिन्दा भने पैदलै यात्रा गर्न बाध्य भइसकेका छन् । जिल्लाको फुलेवास–लुङ्खु–हुवास सडक ठप्प बनेको छ । त्यस्तै दोविल्ला–फलेवास सडकमा सवारीसाधन सञ्चालन भए पनि त्यहाँदेखि उताका सडक बन्द भएका हुन् ।
फलेवासदेखि बाच्छा हुुँदै रानीपानी–शालिग्राम जाने सडक समेत बन्द भएको छ । सडक बन्द भएपछि दक्षिण क्षेत्रका बासिन्दा तीन जिल्ला घुमेर कुश्मा आउनुपरेको प्रशासनको कामले कुश्माबजार आएका हुवासका स्थानीय वृद्ध शेरबहादुर थापाले गुनासो गरे ।
वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रका अधिकांश सडक सवारीसाधान चल्न नसक्ने अवस्थामा पुगिसकेको पर्वत यातायात व्यवसायी समितिका कार्यालय प्रमुख केशवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको गुणस्तर राम्रो नहुँदा पानी परेको भोलिपल्टदेखि जिल्लाका अधिकांश सडकमा सवारीसाधन चलाउन मुस्किल पर्छ ।
जिल्लाको एक नगरपालिका र ४७ गाविसमा सडक सञ्जालले छोएको छ । अधिकांश गाविसका सबैजसो वडामा पनि सडक पुगेका छन् । कतिपय स्थानमा स्थानीयवासीले आफैँ रकम सङ्कलन गरेर त कतिपय स्थानमा जिविस गाविसलगायत दातृ निकायको सहयोगमा सडक खनिएका छन् ।
हिउँदका समयमा अधिकांश सडकमा यातायातका साधन सञ्चालन भए पनि वर्षायाममा भने धेरैजसो सडक बन्द हुने गरेका छन् । खासगरी दोविल्ला–फलेवास, कुश्मा–दुर्लुङ तथा दक्षिणतर्फ वालिङ–हुवास–त्रिवेणी खण्ड र अन्य केही सडकमा सवारीका साधन चल्ने गरे पनि अधिकांश सडक भने वर्षायाममा ठप्प नै हुने गरेका छन् ।
जिल्लाका अधिकांश सडकमध्ये केही मुख्य सडक मात्र विस्तृत सर्भेक्षण गरेर खनिएका छन् । जसमध्ये जिल्ला सडक सञ्जालमा परेका ३२ वटा सडकको २९३ किलोमिटरमा विस्तृत सर्भेक्षण गरिएको छ । त्यस्तै २४२ किलोमिटरका ३८ वटा ग्रामीण सडक पनि जिल्ला विकास समितिबाट बजेट विनियोजन गरी खनिएकाले कार्यालयबाट स्वीकृत लिएका छन् ।
अन्य सडक भने उपभोक्ता समिति र स्थानीय राजनीतिक दलले मनोमानी रुपमा खन्ने गरेको जिल्ला प्राविधिक कार्यालय पर्वतले जनाएको छ ।
उपभोक्ता समितिले खनेका सडक डोजर ड्राइभरको भरमा खनिएकाले पनि सडकको गुणस्तर राम्रो हुन नसकेको जिल्ला प्राविधिक कार्यालय पर्वतका जिल्ला इन्जिनियर महेन्द्र बाँनियाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रका बासिन्दाले खेतीयोग्य जमिनमा नपर्ने गरी र वनपाखामा बढी केन्द्रित गरे सडक निर्माण गर्ने भएकाले पनि मापदण्ड विपरीत हुने गरेको बाँनियाले बताए । केही सडकको बाहेक अधिकांश सडकको ग्रेडिङ नमिल्ने, घुम्ती साँघुरो हुनेजस्ता कारणले सडक गुणस्तरीय हुन सकेका छैनन् ।
रासस
प्रकाशित मिति: ११ असार २०७३, शनिबार ०९:०६