म्याग्दी, ११ असार ।
म्याग्दीको नारच्याङका महिलाले रु २३ लाखको लागतमा सामुदायिक भवन निर्माण गरेका छन् ।
नारच्याङको बेँसीगाउँमा रहेको सिर्जनशील आमा समूहले सभाहल र कार्यालय कोठा भएको भवन निर्माण गरेका हुन् । तीन सय जना क्षमताको सभाहल भएको एक तले दुई कोठे भवन निर्माण गर्न रु २३ लाख खर्च भएको आमा समूहकी सहसचिव नरिमाया गुरुङले जानकारी दिए ।
सभाहल निर्माण भएपछि भेला, विभिन्न कार्यक्रम, छलफल गर्न सजिलो भएको छ । भवन निर्माणका लागि स्थानीय स्तरमा श्रमदान, आर्थिक सङ्कलन, सरकारी निकायसँग समन्वयको काम महिलाकै अगुवाइमा भएको थियो ।
जिविसले रु एक लाख ५० हजार, गाविस कार्यालयले रु दुई लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु एक लाख अनुदान उपलब्ध गराएको थियो ।
आमा समूहले लाहुरे, पर्यटक र विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गरेर जम्मा गरेको रु तीन लाख पनि भवनमा लगानी भएको सहसचिव गुरुङले बताए ।
उनका अनुसार भवन निर्माणका लागि आमा समूहले रु सात लाख ऋण खोजेर लगानी गरेका छन् । ढुङ्गा, गिट्टी र बालुवा श्रमदान गरेर जुटाइएको थियो ।
रासस
प्रकाशित मिति: ११ असार २०७३, शनिबार ०८:५६