युनाइटेड नेसन (संयुक्त राज्य अमेरिका), ८ जेठ । करिब ५२ प्रतिशत बेलायती जनताले बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने पक्षमा मतदान गरेपछि संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले शुक्रबार प्रतिक्रिया दिँदै बेलायती जनमत सङ्ग्रहको नतिजापछि पनि ईयू र बेलायत दुवै राष्ट्रसङ्घका असल साझेदार रहने बताएका छन् ।
एक विज्ञप्ति जारी गर्दै राष्ट्रसङ्घ प्रमुखले विकास र मानवीय सहयोग, शान्ति, सुरक्षालगायत आप्रवासी समस्या सम्बन्धमा एउटा असल साझेदारका रुपमा ईयू प्रस्तुत हुनेमा विश्वास व्यक्त गरेका हुन् ।
उनले बेलायतले यसको नेतृत्वलाई विकासलगायतका विभिन्न क्षेत्रमा थप अभ्यस्त गर्दै अगाडि बढ्नेछ भनेका छन् ।
राष्ट्रसङ्घले ईयू र बेलायत दुवैलाई महत्वपूर्ण साझेदारका रुपमा लिने पनि बताए ।
ईयूबाट बेलायत बाहिरिने पक्षमा जनमत सङ्ग्रहको नतिजा आएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भने, बेलायती जनताले प्रष्ट निर्णयद्वारा बेलायतलाई नयाँ बाटो हिँड्न सल्लाह दिएका छन् ।
यसका लागि मुलुकलाई नयाँ नेतृत्वको खाँचो छ । प्रधानमन्त्रीका हैसियतले मुलुकको नयाँ यात्रालाई विस्तारै आगामी महिनामा अगाडि बढाउन सक्दो प्रयास हुनेछ । तर म नयाँ यात्रामा जहाजलाई क्याप्टेनका रुपमा अगाडि बढाउने योग्य रहने छैन ।
आगामी दिनमा (अक्टोबर पहिले) नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने लक्ष्य लिनु आवश्यक भए पनि यसको समयसारिणी आजै तोकिनु आवश्यक भने नभएको बताए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेलायत ईयूबाट बाहिरिने नतिजा आए पनि बेलायत र ईयू संयुक्त राज्य अमेरिकाका लागि ‘अपरिहार्य साझेदार’का रुपमा रहने बताएका छन् ।
बेलायती ‘इन्डिपेन्डेन्स पार्टी’ का प्रमुख नेता निगेल फारेजले जुन २३ (जनमत सङ्ग्रह भएको दिन) लाई स्वतन्त्रता दिवसका रुपमा हाम्रो इतिहासमा उल्लेख गर्नुपर्ने बताएका छन् ।
उनले भने, बेलायत ईयूमा नरहने धारणा बोतलबाट बाहिरिईसकेको छ । जुन अब चाहेर पनि फिर्ता राख्न सकिँदैन । बेलायतको ईयूसंगको सम्पर्क टुट्यो । ईयूबाट बाहिरियो ।
त्यसैगरी ईयू प्रमुख डोनाल्ड टस्कले बितेका वर्षहरु ईयू र बेलायतको एकता सम्बन्धमा बहुत जटिल रहे, तर मैले मेरा पिताले मलाई भन्ने गरेको कुरा सधैँ स्मरण गर्नेछु भन्दै थपे , “जुन कुराले तिमीलाई मार्न सक्दैन यसले तिमीलाई बलियो बनाउने छ ।”
प्रतिक्रिया दिँदै जर्मन चान्सलर एन्जेला मर्केलले जनमत सङ्ग्रहको मत परिणामपछि अब ‘शान्त र सयमित’ रहनुपर्ने बताएका छन्
बर्लिनमा दिएको भाषणमा उनले भन्नुभयो, युरोप, यसका नागरिक र अपेक्षा फरकफरक छन् । ईयूले उसका नागरिकलाई कस्तो सुविधा दिने हो महसुस गराउन सक्नुपर्छ । विश्वव्यापीकरण भइरहेको संसारमा एक्लै बसेर समाधान खोज्नु चुनौतीको कुरा हुन सक्छ ।
मर्केलले थप्नुभयो, ईयूका संस्थापक पिताहरुले रोम सम्झौतामा निहीत बाटो हिँडेर एकता र शान्ति प्राप्त गरेको इतिहास बिर्सनु हुन्न । उहाँले बेक्जिटपछिको ईयूबारे छलफलका लागि फ्रान्स, इटालीलगायतका युरोपेली नेताहरुलाई बर्लिन बोलाएका छन् ।
यसैगरी फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायतको ईयूबाट बाहिरिने निर्णयसँगै ईयूको गम्भीर परीक्षा हुने भन्दै ईयू र यसमा आबद्ध सदस्यले यतिबेला संयम बन्दै ऐक्यबद्धता देखाउनु पर्नेछ ।
इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले ईयूलाई थप मानवीय र न्यायिक बनाउनुपर्ने भन्दै युरोप आफ्नो घर र भविष्य भएको बताएका छन् । रासस/एजेन्सीहरु