काठमाडौँ, १० असार । रङ्गमञ्चबाट नै अभिनयको सुरुवात गरेका कलाकार अभय बरालले ठूला पर्दाका चलचित्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् ।
‘अध्याय’, ‘होस्टेल रिटन्र्स’ जस्ता युवा लक्षित चलचित्रमा आफ्ना अभिनयकै कारण चर्चा बटुलेका कलाकार अभय पुनः रङ्गमञ्चमा आफ्नो अभिनय प्रस्तुत गर्न आइपुगेका छन् ।
केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको ‘उपियाँको निबन्ध’ नामक नाटकमा अभिनय गरिरहेका कलाकार अभयले रङ्गमञ्चमा अभिनय गर्दा दर्शकसँगको प्रत्यक्ष प्रतिक्रियाको अनुभव चलचित्रमा नपाइने बताए । बरालको यो सातौँ नाटक हो ।
सुन्धारास्थित काठमाडौँ मलमा रहेको नाटकघर थिएटर मलमा उनको नाटक ‘उपियाँको निबन्ध’ शुक्रबार देखि मञ्चन हुँदैछ । स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथालाई नाटकले उठाउन खोजेको छ । निर्देशक श्रेष्ठका अनुसार परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतुर्याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देखाउने प्रयत्न नाटकले गरेको छ ।
बालकको निर्दोष चतुर्याइँपछि शिक्षकको प्रतिक्रियालाई मुख्यरुपमा देखाउन खोजिएको उनले स्पष्ट पारे । उक्त नाटकमा सञ्जिता सञ्जी, जीवन भट्टराई, विनिता गुरुङ, लक्ष्मी बर्देवा, विजय ताम्राकार, शङ्कर भण्डारी, प्रकु पाण्डे, राजेन्द्र भट्ट, रोशन सुवेदी, ममता लामिछाने र दीपक चन्दको अभिनय देख्न सकिन्छ । रासस