काठमाडाैँ, ९ असार । भक्तपुरको सूर्यविनायकमा शिलान्यास भएको ‘राष्ट्रिय प्राणी उद्यान’ले स्थानीय बासिन्दालाई उत्साही बनाएको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयको आयोजनामा भएको एक भव्य कार्यक्रमका बीच आज प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायकमा उक्त प्राणी उद्यानको शिलान्यास गरेका हुन् ।
२०७१ माघ २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार काठमाडाैँ उपत्यकाभित्र प्राणी उद्यान स्थापना गर्न सूर्यविनायक आसपासका सात सामुदायिक वनअन्तर्गतको २४५ हेक्टर वनक्षेत्र निर्धारण गरी काम सुरु भएको छ ।
कार्यक्रममा निकै उत्सुकतापूर्वक सहभागी हुनुभएकी सूर्यविनायक निवासी तारा राजथलाले
उद्यानको शिलान्यासले त्यस क्षेत्रमा मानिसको चहलपहल बढ्ने र स्थानीय व्यापार वृद्धि हुने तथा इलम पाइने कुराले उत्साही भएको बताए ।
प्राणी उद्यान स्थापनाका लागि सरकारले अघिल्लो आवमा रु ५० लाख बजेट निकासा गरेको थियो भने यस आवमा रु चार करोड ५० लाख निकासा गरेको छ ।
स्थानीय लब गिरीले उद्यान स्थापनाले त्यस क्षेत्रमा बाटोघाटो र पूर्वाधारको विकास भई सूर्यविनायक राजधानीबाट नजिकको सुविधायुक्त धार्मिक र प्राकृतिक पर्यटकीय स्थलका रुपमा विकास हुने आशा व्यक्त गरे ।
हाल ललितपुरको जावलाखेलमा छ हेक्टर क्षेत्रफलमा रहेको सदर चिडियाखाना ठूला जनावरलाई साँघुरो भएको र राजधानीका सर्वसाधारणलाई घुम्न तथा मनोरञ्जनका लागि सो उद्यान स्थापना गर्न लागिएको हो ।
उद्यान स्थापनासँगै त्यहाँ निर्माण हुने विकास निर्माणका पूर्वाधारले सुविधा थपिने स्थानीय लक्ष्मण सुवालको आशा छ । “उद्यान निर्माणबाट स्थानीय व्यापार र रोजगारीमा वृद्धि हुने आशा छ” उनले भने ।
भक्तपुरका सामुदायिक वन सेतीदेवी, सूर्यविनायक, लिखानारायण, बालकुमारी, सञ्जिवनी, मन्थली र गौरादेवी सामुदायिक वनअन्तर्गतको उक्त क्षेत्रफलमा उद्यान स्थापना गर्न सीमाङ्कन निर्धारण गर्ने काम भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
सूर्यविनायक निवासी इन्द्रा खतिवडाले उद्यान शिलान्यासले खुसी तुल्याएको बताउँदै उद्यान निर्माणसँगै त्यस क्षेत्रमा खानेपानी, ढल, यातायातलगायत पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिए ।
सामुदायिक वनले उद्यानको व्यवस्थापनमा आफ्नो सहभागिता हुनुपर्ने माग गरेका छन् । उद्यानको सञ्चालनबाट आम्दानी हुने केही रकम स्थानीय विकासमा खर्च गर्नुपर्ने र स्थानीयलाई योग्यताअनुसार रोजगारी दिनुपर्ने सेतीदेवी सामुदायिक वनका अध्यक्ष विश्वराम थापाको भनाइ छ ।
वनमन्त्री अग्निप्रसाद सापकोटाले उद्यानलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामिक बनाइने बताए । उनले उद्यान धार्मिक, प्राकृतिक, मनोरञ्जन, अनुसन्धान तथा अध्ययनका लागि प्रख्यात हुने विश्वास व्यक्त गरे ।
मन्त्री सापकोटाले उद्यान सरकार, स्थानीय जनता, सामुदायिक वनलगायत वन सरोकारवाला सबैको आवश्यकता र प्राथमिकतामा रहेकाले निर्धारित समयमा निर्माण सम्पन्न हुने आशा व्यक्त गरे ।
उद्यान निर्माण कार्य तीन वर्षमा सम्पन्न हुने मन्त्रालयको लक्ष्य छ । सीमाङ्कनपछि कुन जनावरलाई कुन क्षेत्रमा राख्दा उपयुक्त हुने भन्नेलगायतका काम अघि बढाइनेछ ।
सदर चिडियाखानाका ठूला प्राणीलाई उद्यानमा सारिने
ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा रहेका बाघ, भालु, हात्ती, गैँडाजस्ता ठूला जनावर तथा अस्ट्रिच, खोयाहाँस, गिद्धलगायतका ठूला पक्षीसमेतलाई स्थान साँघुरो भएको भन्दै मन्त्रालयले उद्यानमा सार्ने योजना बनाएको छ ।
जावलाखेलमा छ हेक्टर क्षेत्रफलमा रहेको सो चिडियाखानामा हाल १०५ प्रजातिका झन्डै ७५३ जीवजन्तु छन् ।
कम क्षेत्रफलमा ठूला प्राणीले प्राकृतिक आनीबानी देखाउन नसक्ने र स्थानको अभावले सीमित क्षेत्रफलमा राख्नुपर्ने बाध्यता रहेको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो ।
विसं २०५२ देखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको चिडियाखानामा वार्षिक करिब १० लाख दर्शकले अवलोकन गर्ने गरेका छन् । रासस