पोखरा, ९ असार । लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुङ्गा चलाउने र माछा मार्ने व्यवसायमा महिला सक्रियता बढेको छ । यस व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् ।
बेगनास ताल आसपासका क्षेत्रमा बस्दै आएका २० जनाभन्दा बढी महिला डुङ्गा चलाउने पेसामा सक्रिय बनेका डुङ्गा चालक सीता हिमालीले बताइन्। “आम्दानी मनग्य छ, डुङ्गा चलाएरै जीविका धान्न सहज भएको छ”, उनले भने – “पछिल्ला वर्षमा पुरुष कामको खोजीमा विदेशिएका कारण महिलाको सक्रियता बढ्न थालेको छ ।”
बेगनास तालमा हाल लगभग ३०० डुङ्गा सञ्चालनमा आएको जानकारी गराउँदै हिमालीले तालमा स्वदेशी तथा विदेशी पर्यटक डुङ्गा चलाउने, घुम्ने उद्देश्यले आउने गरेका बताइन् । पाँच वर्षयता आफूले डुङ्गा चलाउने व्यवसाय अङ्गालेको बताउँदै उनले भनिन् – “घन्टाको रु ४५० लिने गरेका छौँ, कोही आफैँ डुङ्गा चलाउने गरी आउँछन्, उनीहरू चलाउन दक्ष देखिए भाडामा पनि दिने गरेका छौँ ।”
लेखनाथ नगरपालिका वडा नं– ९ र १० का अधिकांश बासिन्दा डुङ्गाबाटै आवतजावत गर्ने गर्छन् । डुङ्गा चलाउने व्यवसायका साथै यहाँका महिला माछा मार्ने व्यवसायमा समेत सक्रिय रहँदै आएका पिप्ले महिला समूहकी अध्यक्ष माया जलाहारी बताउँछिन् ।
“माछा मार्ने व्यवसायबाट यथेष्ट आम्दानी गर्न सकिन्छ”, उनले भनिन् – “यही व्यवसायबाट घरपरिवारको खर्च, छोराछारीको पढाइ लेखाइ चलेको छ ।” बेगनास ताल किनारामा बस्ने जलाहारी समुदायका ४२ घरपरिवार माछा मार्ने र डुङ्गा चलाउने व्यवसायमा आवद्ध छन् । जलाहारी समुदायका २५ जना महिला माछा मार्ने व्यवसायमा सक्रिय छन् ।
कास्की जिल्लाको दोस्रो ठूलो बेगनास ताल समुद्री सतहबाट ६५० मिटरको उचाइमा छ । विसं २०४४ मा बाँध बनाउनुअघि २२४ हेक्टर क्षेत्रफल रहेको यो ताल बाँध बनाएपछि ३७३ हेक्टरमा फैलिएको छ । तालको औषत गहिराई ६.५ मिटर भए पनि अधिकतम गहिराई ११ मिटर रहेको बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दिनानाथ ढकालले बताए । रासस