चितवन, ९ असार । भूकम्प र नाकाबन्दीका कारण विगतका महिनामा राजस्व सङ्कलनमा निकै गिरावट आएको यहाँको आन्तरिक राजस्व कार्यालय भरतपुरमा यस आवको अन्त्यतिर भने राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको छ ।
कार्यालयले गत जेठ मसान्तसम्ममा रु १० अर्ब ६५ करोड १६ लाख ९४ हजार राजस्व सङ्कलन गरेको छ । गएको ११ महिनामा लक्ष्य रु १० अर्ब ३२ करोड ४० लाख तीन हजार थियो । लक्ष्यको १०३ दशमलव १७ प्रतिशत राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ ।
जेठमा मात्रै रु एक अर्ब १० करोड ६४ लाख ७४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ५९ करोड ३६ लाख ५४ हजार अर्थात १४४ दशमलव ३ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कर अधिकृत गुणराज पोखरेलका अनुसार नाकाबन्दी र भूकम्पका कारण पहिलो चौमासिकमा राजस्व सङ्कलनमा लक्ष्यको २५ प्रतिशत कमी आएको थियो ।
पहिलो चार महिनामा रु तीन अर्ब ६८ करोड ८४ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु दुई अर्ब ७७ करोड ४८ लाख मात्र सङ्कलन भएको थियो । सबैभन्दा बढी अन्तःशुल्कमा प्रभाव परेको थियो । साउनदेखि कात्तिकसम्म अन्तःशुल्कमा रु तीन अर्ब १८ करोड लक्ष्य राखिएकोमा रु दुई अर्ब १७ करोड अर्थात् ६८ दशमलव ३२ प्रतिशत मात्र प्रगति भएको थियो ।
यहाँका दुई मेडिकल कलेजले स्वास्थ्य सेवा कर ठूला करदाता कार्यालय काठमाडौँमा दाखिला गरेपछि स्वास्थ्य सेवा करको लक्ष्य अपुग भएको छ । जेठ मसान्तसम्मको लक्ष्य रु सात करोड ७५ लाख ४२ हजार रहेकोमा रु तीन करोड ८२ लाख ७२ हजार मात्रै सङ्कलन भएको छ । अन्य आय कर, घरबहाल कर, ब्याजकर, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवा कर सबैमा लक्ष्य नाघेको छ ।
“अन्तःशुल्कमा गत वर्षको भन्दा दर बढेकाले राजस्वमा वृद्धि भएको हो,” कर अधिकृत पोखरेलले भने । यस वर्षको असार मसान्तसम्म रु ११ अर्ब ७७ करोड १४ लाख १२ हजार लक्ष्य लिइएको छ । लक्ष्यको १०५ प्रतिशत राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ । गत वर्ष रु नौ अर्ब ९६ करोड ३९ लाख २१ हजार अर्थात् लक्ष्यको १०७ दशमलव २१ प्रतिशत राजस्व असुली भएको थियो ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालले नाकाबन्दीको समयमा राजस्व सङ्कलनमा कडाइ गर्ने अवस्था नरहे पनि पछिल्लो समय बजार अनुगमन, राजस्व सङ्कलनलगायतमा निकै कडाइ गरेकै कारण राजस्व वृद्धि भएको बताए । पहिलो चौमासिकमा राजस्व सङ्कलनमा निकै गिरावट आएका कारण पछिल्ला महिनामा बढेको राजस्वले पूर्ति गर्न सफल भएको हो । यहाँ करिब छ हजार करदाता रहेका बताइएको छ । रासस