काठमाडौँ, ९ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।
आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट वुधबार काठमाडौँ ल्याइएको हो ।
शव ल्याएको विमान आइपुग्ने सूचनाअघि नै विमानस्थलमा मृतकका शोकाकुल परिवार र आफन्तजनको घुइँचो थियो । कतिपय मृतकका परिवार स–साना बच्चासहित विमानस्थल पुगेका थिए । शव राखेको १२ बाकस (कफिन) देखेसँगै परिवारजन मात्र होइन आफन्त र शुभेच्छुकका आँखा पनि आँसुले भरिएका देखिन्थे ।
सो विमान पुग्ने समयसँगै काठमाडौँमा अविरल झरी परेको थियो । लाग्थ्यो आकाश पनि रोइरहेको छ । विमानस्थलमा मृतकका परिवारजन, आफन्त, शुभेच्छुक मात्र होइन सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य सरकारी अधिकारीसमेत वर्षामा रुझ्दै पुगेका थिए । शवमा फूलमालाले श्रद्धाञ्जलि अर्पण गरेपछि परिवारजनलाई शव बुझाइएको थियो । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार सरकारले मृतक परिवारको इच्छाअनुसार सम्बन्धित जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको थियो ।
शव सम्बन्धित जिल्लामा पुर्याउन मन्त्रालयले सुरुमा हेलिकप्टरको व्यवस्था गरे पनि खराब मौसमका कारण शव बाहन पनि तयारी अवस्थामा राखिएको थियो अन्ततः मौसम सफा भएपछि शव हेलिकप्टरबाटै पठाइएको छ । विमान ल्याइएका मृतकका झोला मन्त्रालयले पहिचान गरेर जिम्मा लगाइने जनाएको छ ।
मृतक १२ मध्ये चार जनाको काठमाडौँमा र बाँकीको सम्बन्धित जिल्लामा दाहसंस्कार गरिने बताइएको छ । सरकारले आक्रमणमा परी घाइते भएका पाँच जनालाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको र दुई जनाको उपचार काबुलमै भइरहेको जनाएको छ ।
अफगानिस्तानको सो घटनापछि काम छाडेर स्वइच्छाले उक्त विमानमा आज स्वदेश फर्केका २४ जना अन्य नेपाली सबैको चासोको केन्द्र बनेका थिए । सँगैका साथी गुमाएर त्रासको मानसिकतामा देखिएका उनीहरु विशेषगरी सञ्चारकर्मीको जिज्ञासा मेट्ने स्रोत बनेका थिए । अफगानिस्तानस्थित क्यानाडेली दूतावासमा सुरक्षाका लागि खटिएका १४७ जना नेपाली बेलायती कम्पनी साइबरमा कार्यरत थिए । अन्य कम्पनीको तुलनामा सो कम्पनीले सुरक्षा व्यवस्थामा कम ध्यान दिएको अफगानिस्तानबाट स्वदेश फर्केकामध्येका एक इटहरी निवासी वीरबहादुर खत्रीको भनाइ छ ।
“त्यहाँ रहेका नेपालीमा त्रासको वातावरण छ, अन्य साथीहरु पनि नेपाल फर्कन चाहन्छन्”– खत्रीले भने । उक्त कम्पनीमा कार्यरत नेपाली क्यानाडेली दूतावासमा खटिएका क्यानाडेली सुरक्षाकर्मीको बाहिरी घेरामा सुरक्षा गार्डका रुपमा काम गर्दै आएको उनीहरुले जानकारी गराएका छन् । रासस