अस्ट्रेलिया, ८ असार । सिड्नीमा रहेका नेपाली विद्यार्थीलाई लक्षित गरेर स्थानीय शैक्षिक अवस्था र पछिल्लो अपडेटका बारेमा जानकारी गराउन एक दिने मेलाको आयोजना गरिएको छ ।
सिड्नीको बजारमा अग्रस्थानमा गनिएको एक्सपर्ट एजुकेशन एन्ड भिषा सिर्भिसेजले मंगलबार एक दिने शैक्षिक परामर्श मेलाको आयोजना गरेको हो । मेलामा अस्ट्रेलियामा छरिएर रहेका १४ वटा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा विद्यार्थीका जिज्ञासा र शैक्षिक सेवाका बारेमा जानकारी गराएका थिए । एक दिनमा दुइ सय विद्यार्थीहरुले परामर्श लिनुका साथै आवश्यक सरसल्लाह र सहयोग लिएको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए ।
विश्वविद्यालयलाई प्रत्यक्ष रुपमा जोड्ने र भेटघाटका साथै आवश्यक परामर्श दिने कार्य नौलो भएको र यसवाट नेपाली विद्यार्थीलार्इ फाइदा पुग्ने अर्यालले सुनाए । कार्यक्रममा अस्ट्रेलियामा उच्च अध्ययनका क्रममा परिवर्तन हुदैगरेको भिषा र त्यसबाट पुग्ने असरका बारेमा समेत बिशेषज्ञहरुसँग छलफल चलाइएको कुरा एक्सपर्टका अर्का निर्देशक सन्जिव शर्माले बताए ।
यस्ता खाले भेटघाटवाट विद्यार्थीले आफुले पढेको बिषय र त्यसको संभावना र आगामी रोजाइका बारेमा समेत प्रत्यक्ष जानकारी लिन सक्ने कुरा शर्माले सुनाए । कार्यक्रममा सहभागी विद्यार्थी आकास पन्तले शैक्षिक परामर्श केन्द्रले गरेको यो मेला विद्यार्थीको लागि हितकर रहेको बताए । पन्तले भने, हामीलाई धेरै कुरा थाहा हुँदो रहेनछ, बाहिर हल्ला र कन्सलटेन्सीको कुरा मात्र सुनिएको हुन्छ, पढेको विश्वविद्यालय प्रतिनिधीसँग प्रत्यक्ष कुराकानीवाट धेरै नयाँ कुरा जान्ने मौका मिल्यो । बास्तवमा विद्यार्थीलाई विश्वविद्यालयसँग जोड्दा यसले सबै कुरा स्पष्ट हुन्छ र यो सेवाग्रहीको दायित्व पनि हो, हामीले वर्षेनी दुर्इ पटक यो मेलालाई नियमित गर्ने भएका छौ, संजिवले जानकारी गराए । उनका अनुसार यस पटक मेलवर्न, ब्रिसबेन र एडिलेडवाट समेत विश्वविद्यालयका प्रतिनिधिहरु सिड्नी आएका थिए ।
एक दिने मेला भएपनि यसको महत्व र आयोजना अर्थपूर्ण रहेको सहभागि कृष्ण तिवारीले बताए । सन्चारकर्मी समेत रहेका तिवारीले अस्ट्रेलियामा वर्षेनी परिवर्तन हुने शिक्षा नीति र भबिष्यको योजना बुन्नका लागि यस्ता मेला आवश्यक रहेको बताए ।
प्रकाशित मिति: ८ असार २०७३, बुधबार १९:०३