सुर्खेत, ८ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा अमेरिकन फुलब्राइट कमिसनको सौजन्यमा फ्लोरिडा विश्वविद्यालय अमेरिकाका प्राध्यापक डा. ब्रिजेश थापा ४२ दिने कार्यक्रम सहित बुधबार सुर्खेत आइपुगेका छन् | अमेरिकन फुलब्राइट विशेषज्ञको रूपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सँस्थागत र क्षमता विकास तथा पर्यटन र हस्पिट्यालिटी विषयमा केन्द्रित रहेने गरी कायर्क्रम तय भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए |
बुधवार विश्वविद्यालयको विस्तारित कार्यालयमा प्रा.डा.थापाको स्वागत बैठकमा बोल्दै उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा अमेरिकन विश्वविद्यालयहरूसँग भएको समझदारीपत्रको कार्यन्वयन स्वरूप प्रा.डा. थापाको भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले अमेरिकन राजदुतावास, फुलब्राइट कमिसन, अमेरिकन विश्वविद्यालय र सहयोगी सबैलाई धन्यवाद समेत दिए |
त्यसैगरी रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले फ्लोरिडा लगायतका अमेरिकन विश्वविद्यालयहरूको भ्रमणसंगै भएको समझदारीपत्रको कार्वान्यन सुरुवात भएकोमा खुसि व्यक्त गर्दै उनको सुर्खेत बसाइलाई शैक्षिक प्राज्ञिक रूपमा फलदायी बनाउन सबैलाई आग्रह गरे |
त्यसैगरी फुलब्राइट स्कलर प्रा.डा. ब्रिजेश थापाले विश्वविद्यालयलाई सबैको आकर्षणको केन्द्र बनाउन आफ्नो बसाइलाई अधिकतम रूपमा उपयोग गर्दै यस क्षेत्रको पर्यटन विकासको सम्भावनालाई उजागर गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कार्य्रक्रम ल्याउनु पर्ने बताए |
प्रा.डा. ब्रिजेश थापाको विश्वविद्यालयको कार्यक्रमलाई योजनाबद्ध रूपमा तय गरिएको बताए | सचिवालय सदस्य यदु प्रसाद ज्ञवालीका अनुसार २०७३ असार ८ गते विश्वविद्यालयका पदाधिकारीसंग भेटघाट बैठक, असार ९-११ सम्म यस क्षेत्रका पर्यटकीय क्षेत्रका सम्भाव्यता विषयमा व्यवस्थापन सङ्कायका पदाधिकारी र फ्याकल्टीहरूका लागि कार्यशाला, असार १२ गते व्यवस्थापन सङ्कायका अधिकारीहरूसंग लक्ष्य निर्धारण बैठक रहेको जानकारी दिए ।
त्यस्तै असार १३-१६ सम्म परीक्षा प्रणाली सुधार सम्बन्धी कार्यशाला, असार १७-१९ सम्म राजनीतिक दल, उद्योग बाणिज्य संघ, सरकारी एवम् गैरसरकारी संघ/संस्थाहरू संगको पर्यटन विकास सम्बन्धी गहनतम सेमिनार, असार २०-२२ सम्म विश्वविद्यालयका अधिकारी र सरोकारवालाहरूसँगको पाठ्यक्रमनिर्माण सम्बन्धी अन्तरक्रिया गरिने भएको छ ।
त्यसैगरी असार २३ गते सेमेस्टर प्रणालीका बारेमा अतिथि कक्षा, असार २९-३० सम्म दैलेखका पर्यटकीय क्षेत्रका अध्ययन भ्रमण, असार ३१-श्रावण १ सम्म पाठ्यक्रम निर्माणसम्बन्धी पदाधिकारीहरूसँग अन्तरक्रिया, श्रावण २-४ सम्म अनुसन्धान र प्रतिवेदन लेखन सम्बन्धी कार्यशाला गरिने भएको छ ।
त्यस्तै श्रावण ५-६ सम्म वर्दियाका पर्यटकीय क्षेत्रको अध्ययन भ्रमण, श्रावण ७-९सम्म विश्वविद्यालयको संस्थागत विकास सम्बन्धी कार्यशाला, श्रावण १०-१२ सम्म पर्यटन सम्बन्धी वी.वी.ए. र एम.वी.ए.का विद्यार्थीलाई विविध अवधारणामा छलफल श्रावण १३ गते सुर्खेतका पर्यटकीय क्षेत्रको अध्ययन भ्रमण र १४ गते कार्यक्रमको समापन गरिने भएको छ |
यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षता र रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल सहभागितामा वुधवार सुर्खेत स्थित बिभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसंग एक छलफल कार्यक्रम विश्वविद्यालयको विस्तारित कार्यालयमा सम्पन्न भएको छ ।
उक्त छलफलमा नेपाली कांग्रेसका सभापति कमलराज रेग्मी, नेकपा एमालेका अध्यक्ष ध्रुबकुमार शाही, नेकपा माओबादी केन्द्रका सचिव ठम्मर बहादुर बिष्ट, नेकपा माओबादी विप्लबका प्रकाश ओली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गोबिन्द प्रसाद सुबेदी, संघीय समाजबादी फोरमका अध्यक्ष फत्ते बहादुर सोती मगर र नयाँ शक्ति नेपालका सचिवालय सदस्य प्रचण्ड पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: ८ असार २०७३, बुधबार १८:४६