काठमाडौं, ८ असार । नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेलामा प्रस्तुत भएका दस्तावेजहरु, भेलामा उठेका प्रश्न र सुझावसहित परिमार्जनको काम सुरु भएको छ । दस्तावेज परिमार्जन कार्यदलले पहिलो चरणमा भेलामा समूह छलफलपश्चात प्रस्तुत भएको १२ वटै समूहका सबै प्रश्न, जिज्ञासा र सुझावको अध्ययन सकाएको बताइएकाे छ । कार्यदलले करिव सात सय प्रश्न, जिज्ञासा र सुझावहरुको अध्ययन सकी तीन वटा दस्तावेजहरु मध्ये पहिले विधान परिमार्जनको विषयमा छलफल गरिरहेको जनाएको छ ।
कार्यदलले सबैभन्दा पहिले सुझाव, प्रश्नहरुलाई समेत समेटेर ‘संगठनात्मक सिद्धान्त र विधान’लाई अन्तिम रुप दिने गरी काम थालेको जनाएको छ । विधानलाई अन्तिम रुप दिएपछि ‘नयाँ शक्ति नेपालको आधारतत्व’ र ‘विकास र समृद्धिको मार्ग–चित्र’ दस्तावेजहरुको परिमार्जनको काम हुने बताइएको छ । सबै दस्तावेजहरु परिमार्जनपश्चात महाधिवेशनसम्म पार्टीभित्र र सार्वजनिक छलफल गर्ने गरी सार्वजनिक गरि भएको छ ।
दस्तावेज परिमार्जन कार्यदलमा संयोजक डा. बाबुराम भट्टराई, देवेन्द्र पौडेल, रामेश्वर खनाल, परशुराम तामाङ, रामकुमार शर्मा, सुरेन्द्र चौधरी, कमला हेमचुरी, डम्बर खतिवडा, परशुराम खापुङ, रामचन्द्र झा, गंगा श्रेष्ठ, कल्पना धमला, महेन्द्र पासवान, पासाङ शेर्पा र केशव दाहाल रहेका छन् ।
यो कार्यदलले तीनवटै दस्तावेजहरु ‘नयाँ शक्ति नेपालको आधारतत्व’, ‘विकास र समृद्धिको मार्ग–चित्र’ र ‘संगठनात्मक सिद्धान्त र विधान’ परिमार्जन गर्ने जनाएको छ ।
प्रकाशित मिति: ८ असार २०७३, बुधबार १६:५४