भद्रपुर, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुट्टाले गएको तीन आर्थिक वर्षमा कुल तीन हजार ६१७ वटा मुद्दा दर्ता भएकोमा दुई हजार ९३९ थान मुद्दा फछ्र्योट भएको जनाएको छ ।
सरकारी कामकाजलाई चुस्त एवम् दुरुस्त बनाउन, राजस्वलाई सही सदुपयोग गर्न, विकास खर्चलाई उपयोग गर्न, सरकारी कार्यालयमा अनुचित लाभ तथा हानीको काम हुन नदिन र आम नागरिकप्रति उत्तरदायी रहन सबै सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिलाई प्रतिवेदनले सचेत गराएको छ ।
प्रतिवेदनमा आव ०७०/७१ मा एक हजार ३५२, आव ०७१/७२ मा एक हजार ५६७ र आव ०७२/७३ मा ६९८ थान मुद्दा दर्ता भएकोमा कुल दुई हजार ९३९ थान फछ्र्योट भई ६७८ थान मुद्दामा अनुसन्धान एवम् छानबिन भइरहेको उल्लेख गरिएको छ ।
सो अवधिमा झापामा कुल ३४० उजुरी परेकोमा २९८ फछ्र्योट भएको र ४२ थान मुद्दा फछ्र्योट हुने क्रममा रहेको क्षेत्रीय कार्यालय प्रमुख रविन्द्रनाथ शर्माले जानकारी दिए ।
कार्यालयले फछ्र्योटको क्रममा कुन कार्यालयका पदाधिकारीलाई कारबाही भएको हो त्यो उल्लेख गरेको छैन । झापामा सबैभन्दा बढी शिक्षा कार्यालय विरुद्ध ७३ थान, स्थानीय निकायअन्तर्गत ६८, भूमि कार्यालयअन्तर्गत ५१, वनका ३१, कृषिका १०, गृहका १६, भौतिकका १४, सहरीका १५ र अन्य ६१ थान मुद्दा दर्ता भएको थियो । रासस