काठमाडौं ।विश्व विजेता जर्मनीसँगै पोल्याण्ड युरो कप २०१६ को नकआउट चरणमा पुगेका छन् । जर्मनी समूह सीको विजेता र पोल्याण्ड उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् ।
मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा मारियो गोमेजले गोल गरे ।
थोमस मुलरको पासमा उनले २९ औं मिनेटमा गोल गरेका हुन् । खेल अवधिभर उत्तरी आयरल्याण्डले २८ शट्सको सामना गर्नु परेको थियो, जसमध्ये ८ लाई गोलकिपरले रोकेका थिए ।
जर्मनीका थोमस मुलरको प्रहार बार र पोष्टमा लागेर फर्किएको थियो ।
हारका बाबजुद उत्तरी आयरल्याण्डको सम्भावना सकिएको छैन । तीन अंकका साथ तेस्रो स्थानमा रहेको उ तेस्रो स्थानमा रहने शीर्ष चारमा परेर नक आउट चरणमा प्रवेश गर्न सक्छ ।
पोल्याण्ड पहिलो पटक अन्तिम १६ मा
अर्को खेलमा पोल्याण्डले युक्रेनलाई समान १-० गोल अन्तरले नै पराजित गरेको छ । र, पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको छ ।
समान ७ अंक भएपनि गोल अन्तरका आधारमा जर्मनी समूह विजेता र पोल्याण्ड समूह उपविजेता बन्यो । उसको जितमा ज्याकुब ब्लासचेकोस्कीले ५४ औं मिनेटमा विजयी गोल गरे ।
प्रकाशित मिति: ८ असार २०७३, बुधबार ०७:५३