काठमाडौँ, ८ असार । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले संविधानमा व्यवस्था भएबमोजिमका प्रदेश सङ्गठन कमिटी गठन गर्ने निर्णय गरेको छ ।
एमालेले पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठकले प्रदान गरेको जिम्मेवारीबमोजिम प्रदेश सङ्गठन कमिटी गठन गर्ने निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले पार्टी केन्द्रीय प्रदेश कमिटीमा रहने सदस्यको आधार तय गरी आवश्यक कार्य अघि बढाउने निर्णय गरेको हो ।
एमालेले हालसम्म कायम अञ्चल समन्वय कमिटी÷राजधानी समन्वय कमिटी अब नरहने निर्णय गरेको छ ।
एमाले प्रचार विभागमा प्रमुख तथा सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार प्रदेश कमिटीमा सम्बन्धित प्रदेशअन्तर्गत भूगोलमा जिम्मेवारी तोकिएका केन्द्रीय सदस्य, सम्बन्धित प्रदेशअन्तर्गतका जिल्ला कमिटीका अध्यक्ष, निवर्तमान अञ्चल सचिव, निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य/निर्वाचित महिला र दलित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रहनेछन् ।
प्रदेश सङ्गठन कमिटीको क्षेत्राधिकार र कार्यावधि पनि बैठकले तय गरेको छ । प्रदेश सङ्गठन कमिटीको कार्यावधि प्रदेश अधिवेशन नहुन्जेलसम्म कायम रहने, प्रदेश सङ्गठन कमिटीले पार्टी विधानको धारा २१ (ख) अन्तर्गत अञ्चल समन्वय कमिटीले प्रयोग गर्दै आएका अधिकार र कत्र्तव्यका अतिरिक्त केन्द्रीय कमिटीको छैटौँ बैठकले तोकेका देहायबमोजिमका काम गर्नेछ ।
साथै सम्बन्धित प्रदेशमा पार्टी कामको नेतृत्व गर्ने, प्रदेशमा प्रतिनिधि परिषद्, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने, प्रदेश सङ्गठन कमिटीअन्तर्गत विभाग गठन गर्ने, प्रदेश तहमा पार्टीका आयोग गठन गर्ने, प्रदेश सङ्गठन कमिटीले १० प्रतिशतसम्म सदस्य मनोनयनका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्न सक्नेछ । त्यसरी सिफारिस गर्दा निवर्तमान र पूर्वजिल्ला पार्टी प्रमुख, निवर्तमान अञ्चल समन्वय कमिटी सदस्य, पार्टीमा लामो योगदान भएका पार्टीसम्बद्ध जनसङ्गठनका पूर्वकेन्द्रीय पदाधिकारीलाई प्राथमिकता दिनुपर्नेछ ।
पार्टी एकता र एकीकरणअन्तर्गत पार्टीमा आबद्ध भएका व्यक्तिमध्येबाट पार्टी विधानबमोजिम प्रदेश सङ्गठन कमिटीले २० प्रतिशतसम्म मनोनयनको सिफारिस गर्न सक्नेछ ।
प्रदेश सङ्गठन कमिटीको सदस्यका रूपमा निर्णय भएका, केन्द्रीय विभागमा मनोनयन भएका र मातहत कमिटीमा रहेकालाई दोहोरो जिम्मेवारीमा नरहने गरी एक महिनाभित्र कुनै एउटा कमिटी या विभाग चयन गर्न समय दिइनेछ ।
एमाले स्थायी कमिटीको अर्को बैठक यही असार ९ गते दिउँसो ३ बजे बस्नेछ । रासस