काठमाडौँ, ७ असार । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा धारणा राख्ने सांसदले अफगानिस्तानको काबुलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै घाइते नेपालीको स्वास्थ्योपचार गराउन र शव मुलुक ल्याउनेतर्फ तत्काल पहल गर्न आग्रह गरे ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइरहेको अवस्थामा सरकारका मन्त्रीहरुले नै त्यसविरुद्ध बोल्दै हिँडेकोप्रति आपत्ति जनाउँदै उनीहरुले भूकम्पपीडितले हालसम्म पनि राहत पाउन नसक्नाको कारण सदनलाई जानकारी गराउन आग्रह गरे ।
यस्तै केही सांसदले भने भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण नेकपा (एमाले)को कार्यकर्ता भर्ती गर्ने एनजिओ हो कि भूकम्प प्रभावित जनतालाई राहत प्रदान गर्ने निकाय हो भनी प्रश्न गरे ।
कर्णाली अञ्चलमा खाद्यान्नको चरम सङ्कट उत्पन्न भए पनि खाद्यान्न आपूर्ति गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै सुरक्षा निकायलाई ढुवानीको व्यवस्था गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
यसरी धारणा राख्नेमा राज्यलक्ष्मी श्रेष्ठ (काठमाडाँैँ र नुवाकोट), रामअवतार पासवान, रामवीर मानन्धर, रामहरि सुवेदी, रामहरि खतिवडा, रामेश्वर फुयाँल, विदुरप्रसाद सापकोटा, रीता शाहीलगायत थिए ।
मधेसी मोर्चाद्वारा सदनको बै्रठक बहिस्कार
तराई– मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट तराई पार्टी लगायतले विगतदेखि उठाउँदै आएका माग सम्बोधन गर्न सभामुखको ध्यानाकर्षण गराए ।
उनले सर्लाहीमा महिला हिंसाको घटना बढिरहेको भए पनि स्थानीय प्रशासनले ध्यान नदिएको भन्दै गुनासो गरे । महिला हिंसालाई प्रश्रय दिने स्थानीय प्रशासनलाई कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
सरकारले मधेसी मोर्चासँग वार्ता गर्नेतर्फ कुनै ध्यान नदिएको र विरोधी समूहलाई विश्वासमा लिनेतर्फ कुनै पहल नगरेकामा गुनासो गर्दै मोर्चासँग यसअघि भएको आठबुँदे सहमति लगायत विभिन्न सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।
उनको सो कथनसँगै मधेसी मोर्चासँग सम्बद्ध दलहरुले सदनको बैठक बहिष्कार गरे । रासस