सुर्खेत,७ असार ।
सुर्खेत वीरेन्द्रनगर–९ का अमृत रोकाय क्षेत्री अफगानिस्तान राजधानी काबुल गएको सोमबार पाँच महिना पुगेको थियो । अमृतले कम्पनी र बस्ने स्थानको दूरी टाढा भएकाले बाटोमा असुरक्षा रहेको कुरा बाबु इन्द्र रोकायलाई यस अघि पनि जानकारी गराएका थिए ।
अमृतले बाटोमा आउने जाने क्रममा असुरक्षा रहेको घर परिवारलाई जानकारी गराए जस्तै कार्यालय जाने क्रममा साेमबार बिहान काबुल स्थित उनी चढेको बसमा आक्रमणमा भयो र १४ जनाको मृत्यु भयो भने अमृत घाइते भए ।
अमृतले असुरक्षाका बारेमा जानकारी गराउँदा उनका बाबु इन्द्रले फर्कन आग्रह गरेका थिए । काबुल स्थित क्यानेडियन कम्पनीमा सुरक्षा गार्डमा कार्यरत अमृत त्यही कम्पनीबाटै क्यानडा जान पाउने आशामा रहेकाले नफर्केको बाबु इन्द्रले बताए ।
गत फागुनमा काबुल पुगेका अमृत एक वर्ष पछि मात्रै विदामा आउन पाइने भएकाले नेपाल आउने योजना बनाएका थिएनन् । तर बस्ने र काम गर्ने ठाउँ टाढा भएकाले डर लाग्दो अवस्था रहेको कुरा भने गरेको उनका बाबु इन्द्रले बताए । उनले भने, ‘बाटोमा डर छ भन्ने गरेको थियो, आखिर घटना भयो ।’
सोमबारको घटनाको विहानै जानकारी पाए इन्द्रले छोराको अवस्था बारे जानकारी नहुँदासम्म परिवारमा सबैलाई नसुनाएको तर घाइते भएको जानकारी पाएपछि मात्र परिवारमा घटना बारे सुनाएको बताए । उनले भने, ‘त्यस्तो जोखिम ठाउँमा नजान भनेको थिए तर पहिला पनि गएको हुनाले मानेन ।’
अमृतकी अमा मनमायाले भनिन्, ‘त्यस्तो जोखिम ठाउँमा नजान भनेको थिए तर पहिला पनि गएको हुनाले मानेन ।’ उनकी आमाले मात्र होइन, परिवारका धेरैले अफगानिस्तान नजान आग्रह गरे पनि राम्रो आम्दानी हुने भएपछि अमृत दोस्रो पटक त्यहाँ गएका थिए ।
अफगानिस्तानमा पहिला ६ वर्ष बसेर अनुभव संगालेका अमृत दोस्रो पटक जाँदा कम्पनीले २ लाख ५० हजार रुपैयाँ दिने भनेपनि एक लाख मात्रै दिएको बाबु इन्द्रले सुनाए ।
ठूलो आक्रमणमा परेर घाइते भएका छोराको बोल्न सक्ने अवस्था भएको विदेशी सञ्चार मध्याममा देखेपछि केही राहात महसुस गरेका अमृतका परिवारले जानकारीका लागि घरमा पुग्ने सबैलाई घटना र छोराको बारेमा सुनाउने गरेका छन् ।
प्रकाशित मिति: ७ असार २०७३, मंगलवार १२:१५