पोखरा, ७ असार । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा सोमबार लायन्स मुटुरोग उपचार केन्द्र स्थापना गरिएको छ ।
लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक सहयोग तथा पोखरा उद्योग वाणिज्य सङ्घ र लायन्स डिस्ट्रिक्ट ३२५ वी १ को सहकार्यमा उपचार केन्द्रमा करिब रु एक करोड ५० लाख बराबरको अत्याधुनिक मेसिन जडान गरिएको छ ।
यसमध्ये लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको रु एक करोड पाँच लाख, पोखरा उद्योग वाणिज्य सङ्घको रु १५ लाख, लायन्स डिस्ट्रिक्ट ३२५ वी १ को रु सात लाख र नपुग रु १३ लाख डिस्ट्रिक्ट ३२५ वी १ का गभर्नर ध्रुव थापाको निजी सहयोगमा मेसिन खरिद गरिएको हो ।
मुटुरोग उपचार केन्द्रको स्थापना भएपछि पोखरालगायत आसपासका जिल्ला र गाउँका मुटुरोगका बिरामीलाई उपचार गर्न सहयोग पुग्ने डिस्ट्रिक्ट ३२५ वी १ का गभर्नर ध्रुव थापाले जानकारी दिए ।
मुटुरोग उपचार केन्द्रको अस्पताल बनाउन थप रु नौ करोड लाग्ने र यसको सबै खर्च लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनबाटै जुटाउने प्रतिबद्धता उनले व्यक्त गरे । हाल सो केन्द्रमा चारवटा श्ययाको व्यवस्था गरी उपचार सेवा सुरु गरिएको छ ।
यसअघि सो उपचार केन्द्र पोखरामा नहुँदा मुटुरोगका बिरामीलाई तत्काल काठमाडौँ पुर्याउन सकिएकालाई मात्रै बचाउन सकिने गरिएको र काठमाडौँ लैजान नसकिएका बिरामीले भने अकालमा ज्यान गुमाउनु पर्नेगरेको थियो ।
गत वर्षको भूकम्पबाट पीडित जनताको तत्काल राहत र उद्धारका लागि लायन्स क्लबले करिब रु पाँच करोड बराबरको राहत सामग्री जुटाएको पनि गभर्नर थापाले बताए ।
भूकम्पप्रभावित क्षेत्रका बिरामीलाई स्वास्थ्य उपचारमा सहयोग होस् भनेर लायन्सको पहलमा फोर्स मोटर्स भारतको तर्फबाट रु एक करोड बराबरका तीनवटा अत्याधुनिक एम्बुलेन्सको व्यवस्था गरी काठमाडौँ, गण्डकी र धौलागिरिका विभिन्न क्षेत्रमा पठाएको बताइएको छ ।
त्यस्तै, भूकम्पबाट विभिन्न जिल्लामा भत्किएका ३० वटा विद्यालय निर्माणको कार्य सुरु गरिएको र भूकम्पबाट प्रभावित क्षेत्रका पीडितका लागि भूकम्प प्रतिरोधात्मक एक हजार घर बनाउने निर्णय समेत गरिएको उनले जानकारी दिए । रासस