जाजरकोट, ६ असार ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकलाई सूचना दिन नहिचकिचाउन सरकारी कर्मचारीलाई निर्देशन दिएका छन् ।
जाजरकोट सदरमुकाम खलंगामा सोमबार भएको सूचनाको हक सम्बन्धि कार्यक्रममा प्रमुख सूचना आयुक्त बाँस्कोटाले कुनै पनि बहानामा सूचना नलुकाउन जिल्ला स्थित सरकारी कार्यालयलाई निर्देशन दिएका हुन् ।
सूचनाको हकले नागरिकलाई हरेक सार्वजनिक सूचना माग्न पाउने हकको व्यवस्था गरेको उल्लेख गर्दै सुशासन प्रवद्र्धनका लागि पनि सूचना सार्वजनिक हुनु अपरिहार्य भएको उनको भनाई छ । प्रमुख सूचना आयुक्त बाँस्कोटाले जाजरकोटका सवै कार्यालयहरुलाई तीन तीन महिना भित्र प्रगति तथा खर्चको विवरण सार्वजनिक गर्न, सवै कार्यालयमा सूचना अधिकारीको व्यवस्था गर्न र नागरिकले मागेको सूचना यथासमय भित्र प्रदान गर्न आग्रह गरेका छन् ।
जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, संचारकर्मी, नागरिक अगुवा, राजनीतिक दलका कार्यकर्ता लगायतको सहभागीता रहेको कार्यक्रमका सहभागीले प्रमुख सूचना आयुक्त समक्ष सरकारी कार्यालयहरुले समयमा सूचना उपलब्ध नगराएको, सूचना दिन आलटाल गर्ने गरेको लगायतका सूचनाको हक सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए ।
जिज्ञासाको जवाफ दिंदै प्रमुख सूचना आयुक्त बाँस्कोटाले सूचना नदिने कार्यालयलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘तपाईले मागेको सूचना कुन कार्यालयले दिदैन हामीलाई जानकारी गराउनुहोस कारवाही गर्छौ ।’
कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सहज ढंगले सूचना उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने बताए ।
प्रकाशित मिति: ६ असार २०७३, सोमबार १८:२८