जाजरकोट, ६ असार ।
दीपेन्द्र माध्यामिक विद्यालय ढिमे ९ घरंङ्गमा १० कक्षामा अध्ययनरत छात्रा रविना हमालले ५ वर्ष देखि छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पाएकी छ्रैनन् । रविनाले विद्यालयमा ६ कक्षा देखि पढ्न थालेको तर अहिलेसम्म पाठ्यपुस्तक र छात्रवृित्त रकम नपाएको गुनासो गरिन ।
सरकारले उपलब्ध गराउने छात्रा छात्रवृत्ति र पाठ्यपुस्तकको रकम नपाउने रविना मात्र एक्ली छात्रा होइनन् । सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा निर्मला शाहीले पनि ४ वर्ष देखि पाठ्यपुस्तक र छात्रवृत्ति रकम नपाएको गुनासो गरेकी छन् ।
विद्यालयमा ६ कक्षामा भर्ना भएदेखि उनले छात्रवृति र पाठ्यपुस्तकको पैसा नपाएको बताइन् । यी दुई जना छात्रा मात्र होइन विद्यालयमा अध्ययनरत कुनै पनि विद्यार्थीले धेरै वर्ष अघि देखि छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पाएका छैनन् ।
त्यस्तै सरस्वती माध्यामिक विद्यालय पैक ८ रिजापहाडामा ८ कक्षामा अध्ययनरत छात्रा हिमा आर.सी.ले पनि ३ वर्ष देखि छात्रवृत्तिको रकम नपाएको गुनासो गरिन् । उनले भनिन्, ‘निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन भन्दै हेडसरले बुझेको भरपाईमा सहीछाप गराउनु हुन्छ तर रकम दिनुहुदैन ।’ हिमाले भनिन्, ‘यो विद्यालयमा पढ्न थालेको ३ वर्ष भयो अहिलेसम्म पाठ्यपुस्तक र छात्रवृत्ति रकम पाएकी छैन ।’ उनी मात्र होइन सो विद्यालयका कुनै पनि विद्यार्थीले लामो समय देखि छात्रवृत्ति र पाठ्यपुस्तकको रकम पाएका छैनन् ।
सरकारले १ देखि ८ कक्षा सम्मका हरेक छात्रा र दलित वर्गका विद्यार्थीलाई प्रति विद्यार्थी ४ सय तथा ९ र १० कक्षाका सवै छात्रा र सवै दलित विद्यार्थीलाई ५ सय रुपैयाँका दरले छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।
त्यस्तै गरीब तथा जेहेन्दार विद्यार्थीलाई एक हजार सात सयका दरले माध्यामिक छात्रवृत्ति दिने ब्यवस्था गरिएको छ । त्यसैगरी १ देखि १० कक्षा सम्मका सवै विद्यार्थीलाई निशुल्क पाठयपुस्तक प्रदान गर्नको लागि आवश्यक रकम विद्यालय मार्फत दिने गरिएको छ तर ती दुई विद्यालयका एक हजार विद्यार्थी यो सुविधाबाट ७ वर्ष देखि बञ्चित हुन पुगेका छन् ।
अभिभावकको सहमति लिएर छात्रवृत्ति र पाठ्यपुस्तकको रकम निजी स्रोतमा राखिएका शिक्षक कर्मचारीलाई तलब खुवाउन प्रयोग गरिएको विद्यालयले जनाएका छन् । दीपेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक शुरेश आर.सी.ले ३ प्राथमिक र २ निमावि राहत कोटाको भरमा १० कक्षा सम्म संचालन गर्नु परेकोले समस्या आएको बताए । उनले ५ जना शिक्षक निजी स्रोतबाट व्यहोर्ने गरी राखिएकोले उनीहरुलाई तलब खुवाउन छात्रवृत्ति र पाठ्यपुस्तकको रकम अभिभावकको सहमतिमा प्रयोग गरिएको दावी गरेका छन् ।
‘मासिक ५५ हजार सम्म तलब निजी स्रोतका शिक्षकलाई दिनु पर्छ विद्यालयको आय स्रोत केही छैन न त अभिभावकले शुल्क तिर्न मान्छन् न त दरबन्दी नै पाइन्छ कसरी चलाउनु’ उनले विद्यालयको बाध्यता सुनाए । जिल्ला शिक्षा कार्यालयका अनुसार सो विद्यालयमा यस वर्ष पाठ्यपुस्तकमा १ लाख ६७ हजार ४० रुपैयाँ र छात्रवृत्तिमा ७२ हजार २ सय रुपैयाँ निकासा भएको छ ।
निजी स्रोतमा राखिएका शिक्षकलाई तलब खुवाउन समस्या उस्तै भएपनि सरस्वती माविका प्रधानाध्यापक केशव आर.सी.ले पाठ्यपुस्तक र छात्रवृति रकम दुरुपयोग नगरेको दावी गरेका छन् । उनले जुन शिर्षकमा जिल्ला शिक्षाबाट रकम गएको हो सोही शिर्षकमा रकम खर्च गरेको बताए । सो विद्यालयमा पाठ्यपुस्तकमा १ लाख २७ हजार ३ सय ३४ र छात्रवृत्तिमा ७५ हजार दुई सय रुपैया निकासा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालय निरीक्षक यज्ञश्वर खत्री कुनै पनि बहानामा पाठ्यपुस्तक र छात्रवृत्तिको रकम हिनामिना र दुरुपयोग गर्न नपाइने बताउँछन् । जुन शिर्षकमा जुन प्रयोजनका लागि गएको हो सोही कार्यमा मात्र प्रयोग गर्नु पर्ने अन्यथा कारवाही हुने उनको भनाई छ । उनले सवै विद्यालयहरुले छात्रवृत्ति र पाठ्यपुस्तकको रकम सम्बन्धित विद्यार्थीलाई बुझाएको वीलभरपाई बुझाउने गरेको बताए । जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंह छात्रवृत्ति र पाठ्यपुस्तकको रकम नवाँडेको पाइएमा कारवाही गरिने बताउँछन् ।
प्रकाशित मिति: ६ असार २०७३, सोमबार ०७:३७