अष्ट्रेलिया, ५ असार । विगत लामो समयदेखि नेपाली विद्यार्थीहरुलाई परामर्श उपलब्ध गराउँदै आएको राइट एण्ड एशोसिएट्सले आफ्नो दायरा फराकिलो पार्दै मेलबर्नमा शाखा खोलेको छ । मेलबर्नमा खोलिएको शाखाको भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले एक समारोहकाबीच उद्घाटन गरे ।
स्थानीय लिटिल कोलिन स्ट्रीटमा अवस्थित कार्यालयको शुभारम्भ कार्यक्रममा बोल्दै महावाणिज्यदूत योञ्जनले नेपाली समूदायका साथै अष्ट्रेलियामा रहेका अन्य समूदायसम्म आफ्नो सेवा विस्तार गर्नु पर्ने बताए ।
योन्जनले एउटा संख्या थप्ने काम भन्दा गुणस्तरमा जोड दिन पनि अनुरोध गरे । कार्यक्रममा बोल्दै अष्ट्रेलियामा कार्यरत नेपाली एजुकेशन एजेन्टहरुको संस्था एक्काका उपाध्यक्ष महेश भण्डारीले थोरै नाफामा धेरै सेवा दिँदा पनि आफुहरुप्रतिको धारणा सकारात्मक हुन नसकेको भन्दै क्वान्टिटीभन्दा क्वालिटी सेवामा सबैले केन्द्रित बन्नुपर्ने धारणा राखे । उनले २३ औं संस्थाको रुपमा राइट एण्ड एशोसिएट्सलाई स्वागत गरे ।
कार्यक्रममा एमएनटीभीका समाचार प्रमुख चिरञ्जीवी देवकोटा, सेतोपाटीका अष्ट्रेलिया व्यूरो संयोजक हेमन्त काफ्ले, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, नारकोशी वेव पोर्टलका खेम शर्मा, समाजका अगुवा दुर्गा आचार्य लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै निर्देशकहरु परशुराम अधिकारी र बाल भट्टराईले चितवनबाट सिड्नी हुँदै मेलबर्नसम्मको १६ वर्षको यात्रामा सही सूचना र भरपर्दो सेवालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए ।
वन स्टप सोलुशनको नारालाई अघि बढाउँदै शैक्षिक परामर्शका साथै एकाउन्ट, होम लोनका साथै अन्य वित्तिय सेवा पनि मेलबर्न शाखाले प्रदान गर्ने उनीहरूले बताए । यसका लागि चार्टड एकाउन्टेन्ट राजेश आचार्यको लोटस स्मार्ट एकाउन्टसँग सहकार्य गरिने भएको छ । राइट एशोसिएट्सको मेलबर्न शाखा प्रमुख सुरेश क्षेत्री रहेका छन् ।
प्रकाशित मिति: ५ असार २०७३, आईतवार १३:४९