चितवन, ५ असार । प्रेस युनियनको केन्द्रीय महिला भेलामा सहभागी भएर काठमाडौँबाट चितवन फर्किएका युनियनकाे केन्द्रीय सदस्य वसन्त पराजुलीलाई मुग्लिनबाट नारायणगढ आइपुग्न नौ घन्टा लाग्यो । शनिबार दिउँसो १ बजे कुरिनटारसम्म पुगेको गाडीको लाइनमा लागेका पराजुली राति १२ बजे भरतपुरको आँपटारी आइपुगे । यसको एक महिनाअघि प्रेस चौतारीको महाधिवेशनमा सहभागी हुन नारायणगढबाट एक समूह लिएर गएका प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाललाई मुग्लिनसम्म पुग्न ११ घन्टा लागेको थियो । 
यो एक महिनाको अवधिमा यी प्रतिनिधि पात्रलाई मात्र होइन यो सडकखण्ड भएर आवातजावत गर्ने सबैलाई यस्तै समस्या आइपरेको छ । यो सडक प्रयोग गर्ने धेरैको रात वा दिन सडकमै बित्ने गर्दछ । माथिबाट पहिरो खसिरहन्छ, तल लामबद्ध सवारी साधन रहन्छन् । सवारी साधनभित्र मानिस ठेलमठेल हुन्छन् । त्रासैत्रासमा सडक पार गर्नुपर्ने बाध्यता यात्रुको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य सुरु भएयता यात्रुले यो हैरानी व्यहोर्नु परिरहेको छ । आँपटारीबाट मुग्लिनसम्मको दूरी ३५ किलोमिटर छ । यसमध्ये मुग्लिनबाट पाँच किमी नारायणगढतर्फ पर्ने कालीखोला र पाँचकिलो भन्ने ठाउँ बीचको भाग पहिरोको उच्च जोखिम छ । त्यहाँ सडक फराकिलो बनाउन भित्तो काट्ने काम भइरहेको छ । गत महिनासम्म दिउँसो चार घन्टा आवागमन रोकेर सडक फराकिलो बनाएका कारण जाम बढी थियो भने अहिले पहिरोको कारण समस्या उत्पन्न भएको छ ।
पहिरोका कारणमात्र नभएर ट्राफिक व्यवस्थापनको अभावमा समस्या भएको सोही बाटो भएर यात्रा गरेका पराजुली बताउँछन् । उनले भने – “ट्राफिक व्यवस्थापन कमजोर हुँदा सवारी साधनले एकले अर्काेलाई उछिन्ने होडका कारण समस्या उत्पन्न भएको छ ।” तर रामनगर र मुग्लिनबाट गएका प्रहरीले व्यवस्थापनमा सहयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर काे दावी छ । यद्यपि व्यस्थापकीय पाटो भने निकै कमजोर नै रहेको आम यात्रुको बुझाइ छ ।
सडक विस्तार भइरहेको उक्त सडकखण्डको ठाउँठाउँमा भारी सवारीका साधन फस्ने, बिग्रने समस्या पनि उत्तिकै छ, सवारी बिग्रने, फस्ने र सानासाना पहिरोले गर्दा सबै ठाउँमा दुईतर्फी सडक सञ्चालन हुन सक्दैन । जसका कारण पनि सवारी जाम हुने समस्या उत्पन्न हुन्छ ।
नारायणगढदेखि ३६ किमीको दूरीमा रहेको मुग्लिन सहज अवस्थामा एक घन्टामा पुग्न सकिन्थ्यो, तर हिजोआज उक्त सडकखण्ड पार गर्न १०/१२ घन्टाभन्दा धेरै समय लाग्ने गरेको छ ।
नारायणगढ–मुग्लिन आयोजनाका इञ्जिनियर शिव खनाल पहिरो कतिखेर जान्छ, कसैलाई थाहा नहुने बताउँछन् । उनी भन्छन् – “यो प्राकृतिक घटना हो, कसैले भन्न सक्दैन ।” खनाल उक्त सडकखण्ड भएर जाने सवारीलाई लामो भए पनि वैकल्पिक राजमार्गको प्रयोग गर्न सुझाव दिन्छन् । उनी भन्छन् – “पूर्वी नेपाल जाने सवारीले त्रिभुवन राजपथ र पश्चिम नेपाल जाने सवारीले सिद्धार्थ राजमार्ग प्रयोग गर्दा लामो भए पनि सहज हुन्छ ।” त्रिभुवन राजपथमा भने ठूला र भारी सवारी सञ्चालन गर्न असहज हुने भएकाले यही सडक प्रयोग गर्न बाध्यता रहेको उनले बताए ।
नारायणगढदेखि ३१ देखि ३४ किमी दूरीमा रहेका चार किलो र कालिखोला भन्ने ठाउँ पहिरोको उच्च जोखिममा रहेको बताउँदै खनालले अहिलेसम्मका ८० प्रतिशत पहिरो सोही ठाउँमा खसेको बताए ।
नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक सात हजार तीन सय गाडी ओहोरदोहोर हुने अघिल्लो आवको तथ्याङ्क छ ।
ठेक्का दिँदा २०७४ सालको वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि भू्कम्प र नाकाबन्दीका कारण चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । विसं २०७२ को वैशाखबाट निर्माणकार्य थालिएको हो ।
विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक विस्तार थालिएको हो । हाल उक्त सडकखण्डको आँपटारीदेखि १६ किमीसम्म ११ मिटर चौडा र त्यहाँबाट मुग्लिनसम्म नौ मिटर चौडा बनाइँदै छ । रासस