बेनी (म्याग्दी), ५ असार । उत्तरी म्याग्दीको बेगखोलामा अवस्थित महादेव माविमा प्रवासी बेगखोलाका बासिन्दाको सहयोगमा रु २५ लाखको अक्षयकोष स्थापना भएको छ ।
युके र हङ्कङका साथै स्वदेशका विभिन्न ठाउँमा रहेका बेगखोलावासीको सहयोगमा सो अक्षयकोषको स्थापना गरिएको हो ।
विद्यालयमा अध्यापनरत निजी स्रोतका शिक्षक र कम्प्युटर शिक्षकको तलब जुटाउन अक्षयकोष स्थापना गर्ने विभिन्न दातालाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।
कार्यक्रममा मुक्तिधाम उच्च मावि स्रोत केन्द्रका स्रोत व्यक्ति एवम् विद्यालयका पूर्व प्रअ दुतबहादुर गर्बुजा र प्रअ घनबहादुर फगामीले अक्षयकोषले विद्यालयलाई आर्थिक रुपमा ठूलो सहयोग गरेको भन्दै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
विसं २०६४ देखि कक्षा ४ देखि १० सम्म ऐच्छिक विषयका रुपमा कम्प्युटर शिक्षा सुरु गरेको विद्यालयमा हाल निजी स्रोतबाट निमावि तहमा दुई जना शिक्षक कार्यरत रहेका छन् ।
ऐतिहासिक सम्पदाको संरक्षणमा युवा
म्याग्दीको बराङ्जा–४ दह गाउँमा रहेका ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण भएको छ । दह शिवालय युवा क्लबको सक्रियतामा दहको पोखरी, शिवालय मन्दिर र खेलमैदानको मर्मतसम्भार तथा संरक्षण गरिएको हो ।
दहमा रहेको ऐतिहासिक पोखरी र शिवालय मन्दिरमा घेराबार लगाउनुका साथै प्याराफिटको निर्माण र खेलमैदानको संरक्षण गरिएको दह शिवालय युवा क्लबले जनाएको छ । क्लबले देउसी भैलोबाट सङ्कलन गरेको नगद रु ७० हजार र रु ४५ हजार बराबरको श्रमदानमा घेराबार र प्याराफिट लगाइएको निर्माण समितिका अध्यक्ष थमबहादुर रोकाले बताए ।
शिवालय मन्दिरमा खासगरी बालाचतुर्दशी र शिवरात्रि पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । रासस