जुम्ला, ५ असार । कर्णालीमा पहिलो पटक मेलमिलापसम्बन्धी आठदिने अञ्चलस्तरीय आधारभूत तालिम सञ्चालन गरिएको छ ।
मेलमिलाप परिषदको सहयोगमा सामुदायिक मेलमिलापकर्ता समाजले तालिम सञ्चालन गरेको हो ।
सञ्चालित तालिमको उद्घाटन गर्दे पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश टङ्कबहादुर पुनले विवादलाई स्थानीयस्तरमा व्यवस्थापन गर्न सरकारले ल्याएको मेलमिलाप नीतिलाई कार्यान्वयन तहमा लैजान सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्ने धारणा राखे । तालिमपश्चात् सबै मेलमिलापकर्तालाई अदालतमा सूचीकृत हुन उनले आग्रह गरे ।
पुनरावेदन अदालत जुम्लाका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले विवाद समाधानको वैकल्पिक उपाय मेलमिलाप हो भने । एकसाता बढी सञ्चालन हुने तालिम लिने सबै सहभागीले फिल्डस्तरमा सही तरिकाले काम गर्न सके यसको प्रभावकारिता बढ्ने उनको भनाइ थियो ।
जिल्ला न्यायाधीश कृपाशुर कार्कीले विवाद व्यवस्थापन गरी समाजमा शान्ति अमनचयन कायम गर्नु मेलमिलाप नीतिको प्रधान उद्देश्य रहेको बताए ।
नेपाल बार एसोसिएसन जिल्ला बार एकाइ जुम्लाका केन्द्रीय पार्षद् देवेन्द्रराज शर्माले मेलमिलापले कोही पक्ष नहार्ने र यसमा सबैले जित्ने भएकाले यो शान्ति स्थापनाको दिगो उपाय भएको बताए ।
आठदिने तालिममा हुम्ला, डोल्पा, कालीकोट, मुगु र जुम्ला गरी २७ जनाको सहभागिता रहेको जिल्ला अदालत जुम्लाका स्रेस्तेदार अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
आठदिने तालिममा सामुदायिक मेलमिलापकर्ता समाजका नयनभक्त श्रेष्ठ र धीरेन्द्र अवस्थीले प्रशिक्षण दिएका छन् । रासस