काठमाडौँ, ५ असार । मनसुनी गतिविधि सक्रिय हुँदा केहीदिनदेखि नेपालको मौसममा खराबी आएको छ ।
असार १ गतेबाट सुरु भएको मनसुनी वायुको प्रभावले देशभर बदलीसँगै मध्य र पूर्वका अधिकांश स्थानमा वर्षात् भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

नेपालमा सामान्यतः जुन १० बाट मनसुन सुरु हुने भए पनि यो पटक झन्डै साता दिन ढिलो गरी मनसुन सुरु भएको छ ।
बङ्गालको खाडीबाट नेपालको पूर्वी भाग हुँदै भित्रिएको मनसुन अहिले मध्यभागमा आइपुगेको र यो क्रमशः पश्चिमतिर सर्ने क्रममा रहेको छ ।
मनसुनी वायुको प्रभावले खासगरी मध्य र पूर्वी तथा पश्चिमका नेपालगन्ज, धनगढीलगायतका स्थानमा समेत वर्षात् भएको मौसमविद् पौडेलले बताए ।
उनका अनुसार मनसुन देशको पश्चिम भेगतर्फ सरिरहेकाले अझै केही दिन बदलीसँगै देशैभर वर्षात् हुनेछ । मनसुनी वायुले पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा रहेकाले बढी वर्षात् भएको पनि उनले उल्लेख गरे ।
अर्का मौसमविद् सुजन सुवेदीले प्रि–मनसुनसँगै स्थानीय वायुको सक्रियताले पनि वर्षात् गराएको बताए ।
शनिबार काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा दिउँसो भीषण वर्षात् हुँदा सवारी आवागमनसमेत केहीबेर प्रभावित भएको थियो ।
महाशाखाको पछिल्लो विवरणअनुसार विराटनगरमा ३.०, धरानमा १३.५, धनकुटामा ६७, तापलेजुङमा २७, ओखलढुङ्गामा १.२, जनकपुरमा १०, भैरहवामा ६.८, जिरीमा २१.८, काठमाडौँमा ३.५, पोखरामा २३.२, लुम्लेमा ६२.७, दाङमा छ र डडेलधुरामा तीन मिलीमिटर वर्षात् भएको छ ।
के हो मनसुन ?
जुनदेखि सेप्टेम्बरसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवास्पयुक्त हावा नै मनसुन हो । नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना (१०५) दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षात् गराउँछ । जलवास्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ ।
नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र प्रि–मनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षात् हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जुनदेखि सेप्टेम्बरको चार महिनासम्मको समयलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षात्को करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । गत वर्षको मनसुनी वर्षा करिब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो ।
सन् २०१० देखि हरेक वर्ष मनसुन सुरु हुनुअगावै विश्व मौसम सङ्गठनको अगुवाइमा दक्षिण एसिया क्षेत्रका मौसमविद्हरुको साझा दृष्टिकोण तयार गर्ने परिपाटी रहेको छ । जसअनुसार नेपालमा यस वर्षको मनसुनी वर्षा समग्रमा सरदर रहने बताइएको छ ।
तथापि क्षेत्रगत रुपमा हेर्दा मध्य तथा सुदूरपश्चिमका तराईका केही भूभागहरु तथा सुदूरपश्चिमका केही पहाडी भू–भागहरुमा सरदरभन्दा बढी र पूर्वका केही तराईका साथै पहाडी भू–भागहरुमा सरदरभन्दा कम वर्षा हुने मौसमविद्को अनुमान छ । रासस