काठमाडौँ, ४ असार । पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्ने निचोड निकाल्दै दुई दिने महिला राष्ट्रिय भेला सम्पन्न भएको छ ।
नेपाल प्रेस युनियन महिला विभागले आयोजना गरेको उक्त भेलामा देशभरका चारसय महिला पत्रकारको सहभागिता थियो ।
भेलाले श्रमजीवी महिला पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधान प्रदत्त मौलिक अधिकारको पूर्ण सम्मान गर्दे पत्रकार आचारसंहिताको पूर्णपालना गर्नुपर्नेलगायत नौं बुँदे काठमाडौँं घोषणपत्र जारी गरेको छ ।
व्यक्तिको चरित्र र मर्यादामा ठेस पुर्याउने समाचार सम्प्रेषण गरेको तथ्य र तथ्याङ्क बाहिर प्रकाशित भएकाले पत्रकारिता क्षेत्रलाई मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रेस युनियन महिला विभागले पत्रकार आचारसंहिता पालनामा जोड दिएको महिला विभाग प्रमुख बाला अधिकारीले जानकारी दिए ।
भेलाले संविधानले व्यवस्था गरेअनुसार हरेक सञ्चारगृहमा ३३ प्रतिशत महिलाको सुनिश्चितता, स्वस्थ्य उपचारमा विनियोजित ५० प्रतिशत छुट व्यवस्था तत्काल लागू गर्नुपर्ने उल्लेख छ ।
त्यसैगरी सरकारले घोषणा गरेको पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० रकमलाई तत्काल लागू गर्नुपर्ने, सुत्केरी र किरिया बिदा तथा रात्रिकालीन सेवामा रहँदा यातायातको सुविधा, ६ जना भन्दा बढी महिला कामदार रहेको सञ्चारगृहमा शिशु स्याहार केन्द्रको व्यवस्थालगायतको सुविधा हुनुपर्ने ध्यानार्कषण गरेको थियो ।
भेला समापन गर्दे नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले पत्रकारितामा क्रमशः विकृति मौलाउँदै गएकाले सुद्धिकरणको आवश्यकतामा जोड दिए ।
उनले व्यावसायिक विकासका लागि क्षमताआर्जन गर्नु, सत्यको खोजी गर्नु, असत्यको तिरस्कार गर्नु तथा मूल्य र मान्यताको जगमा उभिएर पत्रकारिता गर्नु आजको आवश्यकता रहेको बताए ।
नेपाल प्रेस युनियन प्रजातन्त्रवादी पत्रकारको छाता सङ्गठन हो । यस संस्थामा १० हजार सदस्य आवद्ध छन् । जसमध्ये महिला पत्रकारको सङ्ख्या पाँचसय रहेको छ ।
युनियन अन्तर्राष्ट्रिय पत्रकार सङ्गठन (आइएफजेको) को सदस्यता लिने पहिलो संस्था हो । संस्थाको ७३ जिल्लामा जिल्ला शाखा रहेका छन् । संस्था २०४८ साल जेठ १३ गते स्थापना भएको हो ।
भेलामा महिलाको आयाम र उनीहरुले पाएका दुःखको बारेमा चर्चा हुुनुको साथै नेपाली पत्रकारिताको इतिहासका बारेमा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिङ्देल, महिला पत्रकार निर्मला आचार्य, राधा चालिसेलगायतले धारणा राखेका थिए । रासस