डोटी, ४ असार । सङ्कटमा पर्दै गइरहेको चुरे संरक्षणमा डोटीमा छत्तिवन गाविसका बासिन्दा अग्रसर बनेका छन् । यस वर्ष भएको लामो खडेरीसँगै लागेको आगोबाट सङ्कटमा परेको चुरे क्षेत्र जोगाउन जिल्ला वन कार्यालय र भू–संरक्षण कार्यालयसँग छत्तिवनका बासिन्दाले हातेमालो गरेका छन् ।
चुरे क्षेत्रको संरक्षण र संवद्र्धनबाट मात्रै वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने हेतुले अभियानलाई तीव्र पारिएको जिल्ला वन अधिकृत बद्रीकुमार कार्कीले बताए ।
यस वर्षको खडेरीयामले डोटीमा करिब ५० प्रतिशत भन्दा बढी जङ्गलमा लागेको डढेलोले वातावरणमा परेको असर र भूस्खलनलाई मध्यनजर गरी चुरे जोगाऔँ अभियान थालिएको वन अधिकृत कार्कीले बताए ।
डढेलोले जङ्गल सखाप पारेको अवस्थामा चुरे संरक्षण गरिएन भने भावी पिँढीलाई झन समस्या निम्तिन्छ, र हाललाई बाढी पहिरोको जोखिम बढ्छ, पानीका स्रोत सुक्दै जान्छन्, कार्कीले थपे ।
हाल डोटीमा करिब २५ वटा सामुदायिक वनले चुरेलाई छोएको जिल्ला वन कार्यलयले जनाएको छ । अहिले अधिकांश वन क्षेत्र डढेलोले सखाप तुल्याएको छ, जसले गर्दा भूक्षय, भुस्खलन्, बाढीको बढी जोखिम रहेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख टोपबहादुर श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार डोटीमा अधिकांश वन बाढी पहिरोको जोखिममा रहेको छ । जसका संरक्षणमा अग्रसरता देखाइएन भने, सङ्कट निम्तिन्छ, उनले भने ।
डोटीमा रहेको छत्तिवन गाविसस्थित चुरेबाट बग्ने बिछेल र पतडाखोलामा स–साना ड्याम बाँधिएको छ, भने वृक्षरोपणका लागि करिब दुई हजारभन्दा बढी बाँस निगालोका बिरुवा तयार भएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ । रासस