सुर्खेत, ४ असार ।
आर्थिक वर्ष सकिन २६ दिन मात्रै बाँकी रहँदासम्म सुर्खेतमा विकास बजेट आधा पनि खर्च भएको छैन् । चालु आर्थिक वर्षमा सुर्खेतका लागि १ अर्ब ३४ करोड २७ लाख १३ हजार रुपैयाँ विकास बजेट विनियोजन गरिएपनि जेठ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।

बजेट धेरै विनियोजन गरे पनि विकास बजेट खर्च कम हुने सुर्खेतको मात्र होइन, यो पुरानै राष्ट्रिय रोग हो । आन्दोलन र नाकाबन्दीका कारण यसवर्ष विकास वजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख खिमबहादुर विष्टले बताए । उनले निर्माण व्यवसायीहरुले काम समयमा नगर्ने भएकाले भुक्तानी गर्ने रकम बाँकी देखिँदा पनि विकास बजेटमा खर्च कम देखिने गरेको बताए ।
‘कार्यालयले कसैलाई आँखा चिम्म गरेर चेक काट्न पनि मिल्दैन, जथाभावी खर्च गर्नु पनि भएन ।’ कोलेनिका सुर्खेतका प्रमुख विष्ट भने, ‘निर्माण व्यवसायीले समयमा काम नगर्दा विकास बजेट कम खर्च हुने गरेको छ ।’
भेरी बबई डाइभर्सन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले निर्माण व्यवसायीहरुले काम गरे पनि भुक्तानी नलिएका कारण खर्च नदेखिएको बताए । उनले निर्माण व्यवसायीले गरेको कामको भुक्तानी लिएमा बजेट पूरै खर्च हुने जानकारी दिए ।
त्यसैगरी जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डिभिजनल इन्जिनियर प्रेम घिमिरले योजनाहरुमा ठेक्का भएर काम भइरहेको हुँदा आर्थिक वर्षमा भित्र खर्च हुने बताए । उनले १६ करोड ७६ लाख रुपैयाँ बजेट मध्ये अझै साढे १४ लाख बजेट निकासा नभएको जानकारी दिए ।
त्यसैगरी जिल्ला विकास समिति सुर्खेतले भने जेठ महिनासम्ममा ११ करोड ८ लाख रुपैयाँ मात्र विकास बजेट खर्च भएको जनाएको छ । जिविसले ३१ करोड ७४ लाख मध्ये ११ करोड ८ लाख खर्च भएको जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा जिल्ला विकास समितिले खानेपानी आयोजनाहरुमा ५ करोड १९ लाख २२ हजार रुपैयाँ, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले १५ करोड ८७ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।
त्यस्तै सहरी विकास तथा भवन निर्माण डिभिजनले १५ करोड २० लाख ५० हजार रुपैयाँ, भेरी–बबई डाइभर्सनले १० करोड ९० लाख ४१ हजार रुपैयाँ, कर्णाली राजमार्गले १५ करोड ४३ लाख १९ हजार रुपैयाँ र डिभिजन सडक कार्यालयले ४२ करोड ४६ लाख ५९ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: ४ असार २०७३, शनिबार १४:०४