गोरखा, ४ असार ।
गोरखा सदरमुकाममा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिब जनताको घरमा धारा जडान गर्न ऋण सहयोग दिने भएको छ ।
आर्थिक अवस्था कमजोर भएका सीमान्तकृत, दलित एवम् जनजातिलाई धारा जडानमा ५० प्रतिशत छुट दिइने भएको हो ।
यस्तै ५० प्रतिशत शुल्क तिर्न नसक्ने जनतालाई ७५ प्रतिशत छुट गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष विनोदबाबु अर्यालले बताए । उनले भने, ‘पैसाको अभावले घरमा धारा जडान गर्न नसक्ने जनतालाई मासिक सात प्रतिशत ब्याज लिने गरी ऋण दिन्छौँ ।” संस्थाले उपलब्ध गराएको ऋण लिएर एक जना उपभोक्ताले घरमा धारा जोडेका छन् । सामूहिक धारा जडान गर्न चाहेमा पनि ऋण दिनसक्ने उनले बताए।
संस्थाले प्रतियुनिट पानीको महसुल बढाएको छ । छ युनिट पानी प्रयोग गर्दा रु ३०० र ७ देखि १० युनिटसम्म प्रयोग गर्दा रु ४५० महसुल तिर्नुपर्ने भएको छ । संस्थाले यसअघिभन्दा मासिक प्रतियुनिट ८० पैसाका दरले महसुलमा वृद्धि गरेको जनाएको छ । नगर विकास कोषबाट लिएको रु दुई करोड ६० लाख ऋण तिर्न हम्मेहम्मे परेको अर्यालले बताए ।
उपभोक्ताबाट पानीको महसुलबापत मासिक रु पाँच लाख सङ्कलन भए पनि विद्युत्को महसुल तिर्न मासिक रु चार लाख खर्च हुन्छ । संस्थाका नौ जना कर्मचारीलाई तलब खुवाउन मासिक रु एक लाखले नपुग्दा समस्या भएको छ । नियमित मर्मतको काम गर्दा मासिक रु ८० हजार खर्च हुँदै आएकाले आर्थिक अभाव हुँदाहुँदै पनि धारा जडान गर्न ऋण दिने व्यवस्था मिलाइएको अध्यक्ष अर्यालको भनाइ छ ।
संस्थाले वितरण भइआएको पानी शुद्ध र पिउनयोग्य रहेको दाबी गरेको छ । ढाक्रेखोला र छाङखोलाको पानी रफेनिङ फिल्टरले शुद्ध पारिएकाले प्राविधिक प्रतिवेदन हेर्दा पानी पिउँदा असर नगर्ने पाइएको सचिव पूर्णमाया वन्तको भनाइ छ । दैनिक एक हजार ८५० युनिट पानी आवश्यकता भए पनि संस्थाले मागअनुसार पानी वितरण सकेको छैन । पानीको समस्या हटाउन दरौँदीको पानी लिफ्टिङ गर्नुको विकल्प नहुने सरोकारवालाको तर्क छ ।
रासस
प्रकाशित मिति: ४ असार २०७३, शनिबार १०:५२