काठमाडौ, ४ असार ।
सरकारले कुनै पनि सवारी दुर्घटनाबाट कसैको ज्यान गएमा जन्मकैदको सजाय हुने व्यवस्थासहित व्यवस्थापिका संसद्मा विधेयक दर्ता गरेको छ । ‘केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्न बनेको विधेयक’ अन्तर्गत ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ मा संशोधन प्रस्ताव गर्दै सरकारले दुर्घटनाबाट ज्यान गएमा जन्मकैदको व्यवस्था गरेको हो ।
कुनैपनि सवारीचालकले सवारी चलाउँदा ज्यान मार्ने मनसायले वा लापर्बाहीले कुनै व्यक्तिलाई कुल्ची वा ठक्कर दिई वा सवारी दुर्घटना गराई सवारीभित्र वा बाहिर रहेको कुनै पनि व्यक्तिको तत्कालै वा २१ दिनभित्र ज्यान गएमा उसलाई जन्मकैद’ हुने व्यवस्था विधेयकमा गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १ सय ६१ को उपदफा १ र २ मा रहेको यसअघिको व्यवस्थालाई संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । राजधानी दैनिकमा खबर छ ।
ज्यान मार्ने मनसाय लिई कसैको ज्यान गएमा सर्वस्वसहित जन्मकैदको व्यवस्था थियो भने ज्यान मार्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानीजानी लापर्बाही गरी चलाएको सवारीबाट कसैको तत्कालै वा पछि ज्यान गएमा दुईदेखि १० वर्षसम्मको कैद व्यवस्था थियो ।
ज्यान मार्ने मनसायले गराएको दुर्घटनामा कसैको ज्यान तत्कालै वा २१ दिनभित्र गएमा ‘सर्वस्वसहित जन्मकैद’लाई हटाई ‘जन्मकैद’को व्यवस्था राखी सजाय घटाइएको छ भने लापर्बाही गरी चलाएको सवारीबाट कसैको ज्यान तत्कालै वा २१ दिनभित्र गएमा पनि ‘जन्मकैद’को व्यवस्था राख्दै सजाय बढाइएको हो ।
सरकारी तथ्यांकअनुसार अहिलेसम्म सवारीबाट भएका अधिकांश दुर्घटना लापर्बाही गरी सवारी चलाएको व्याख्याका आधारमा चालकलाई कम सजाय दिइँदै आएपछि सरकारले यस्तो व्यवस्था गरेको हो । तथ्यांकबमोजिम कुनै मानिसलाई ज्यान मार्ने मनसायले नै कुल्चने, ठक्कर दिने र दुर्घटना गराउने व्यक्तिलाई सर्वस्वसहित जन्मकैद भएका कमै उदाहरण भेटिन्छन् ।
यस्ता घटनालाई मार्ने मनसायले नभएको भन्ने व्यख्या गर्दै सवारी चालकलाई लापर्बाही गरी सवारी चलाएको भन्दै कम्तीमा दुई वर्ष वा बढीमा १० वर्षसम्म कैद सजाय गरी सवारीचालकलाई उन्मुक्ति दिइँदै आएको थियो । विधेयकको प्रस्तावित यो व्यवस्थाले सवारीचालकबाट सवारी चलाउँदा हुने लापर्बाहीलाई नियन्त्रण गर्ने विश्वास सरकारको छ ।
यसैगरी, दुर्घटनाको कारणबाट कुनै व्यक्ति अंगभंग भएमा त्यस्तो कार्य बदनियत साथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । यसअघि यस्तो घटनामा आठ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था थियो ।
यस घटनाबाट अन्धो वा नपुंसक जुनसुकै कुरा काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई ५ हजार रुपैयाँ जरिवाना मात्र गरिने व्यवस्था गरिएको छ ।
त्यस्तै, दफा १ सय ६२ को उपदफा ३ मा संशोधन गर्दै सवारीचालक अनुमति पत्र लिएको व्यक्तिले चालक अनुमति पत्र नलिएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई कुल्ची ठक्कर दिई वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहेबसेको मानिसको अंगभंग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको ‘आधा सजाय’ दिइने व्यवस्था विधेयकमा गरिएको छ । यसअघि यस्तो घटनामा २ हजार रुपैयाँ मात्र जरिवानाको व्यवस्था गरिएको थियो ।
कसुर भएको मितिले ३० दिनभित्र घटनाबारे उजुर गर्नुपर्ने व्यवस्था छ । गत १ असारमा संसद्मा प्रस्तुत भएको सो विधेयकमाथि संशोधनका लागि शनिबारसम्म समय दिइएको छ ।
प्रकाशित मिति: ४ असार २०७३, शनिबार ०७:५३