काठमाडौ, ४ असार ।
आधिकारिक कर्मचारी ट्रेड युनियनको निर्वाचनमा उत्कृष्ट नतिजासहित पहिलो बनेको एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनभित्र नेतृत्वमा पठाउने विषयलाई लिएर विवाद चर्किएको छ । ट्रेड युनियनका पदाधिकारी र सदस्यको नाम छनोट गर्न शुक्रबार काठमाडौंमा बसेको संगठनको बैठकमा विवाद बढेपछि कुर्सी हानाहानसमेत भएको छ ।
बैठकमा एकअर्कामाथि तल्लो स्तरको गालीगलौजसमेत भएको एक नेताले बताए । आधिकारिक ट्रेड युनियनमा संगठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसहित ११ जना पठाएको छ । आगामी ७ असारसम्म संगठनको तर्फबाट नामावली पठाउनुपर्ने भए पनि नेतृत्व कसले गर्ने भन्नेमा चर्काे विवाद देखिएको छ ।राजधानी दैनिकमा खबर छ ।
आधिकारिक युनियनको अध्यक्षका लागि अध्यक्ष पुण्य ढकालसहित पूर्वअध्यक्ष भोला पोखरेल, गणेश बस्याल र पूर्वउपाध्यक्ष लक्ष्मण खड्काले दाबी गर्दै आएका छन् । संगठनको बैठक १ र २ गते नै बसेर आधिकारिक निर्णय गरेर नामावली पठाउनुपर्नेमा अध्यक्ष ढकालले आलटाल गरी टार्दै आएकाले विवाद बढेको पूर्वअध्यक्ष पोखरेलको दाबी छ । ‘शुक्रबार पनि बैठक डाकिएको थियो तर उनी बहाना बनाउँदै बैठकमा केही समयका लागि आएर स्थगित गर्न खोजेपछि जिल्लाबाहिरबाट आएका केन्द्रीय कमिटीका सदस्यले आलटाल नगरी नाम छनोट गर्नुपर्ने भन्दै अडान लिएपछि केही साथी कुर्सी हानाहानमै
उत्रनुभयो,’ पोखरेलले राजधानीसँग भने । विवाद बढेपछि बैठकमै अपशब्द प्रयोग गरी कर्मचारी नेताहरू कुर्सी हानाहान गर्न थालेको उनले बताए ।
यता अध्यक्ष ढकालले पेसागत महासंघको महाधिवेशन भएकाले नाम छनोटमा ढिलाइ हुन गएको बताए । अन्य कामले नाम छनोटमा ढिलाइ भएपछि केही सदस्यहरूमा असन्तुष्टि बढेको हुनसक्ने उनको भनाइ छ । बैठक चलिरहेकै बेला कुर्सी हानाहान भई अध्यक्षलाई दुव्र्यवहार गर्न थालिएपछि सो झगडा मिलाउने क्रममा सचिव गंगा सुनुवार समान्य घाइते भएका छन् । आफूलाई कसैले नकुटेको तर झगडा मिलाउने र अध्यक्ष ढकालमाथि आक्रमण हुन नदिने काम गर्दा धकेलाधकेलमा परी समान्य घाइते भएको सुनुवारले बताए । संगठनमा विवाद बढ्दै गएपछि बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । अध्यक्ष ढकालले भने संगठनमा बढ्दै गएको विवाद समाधान गरी नाम छनोटको विषयमा आन्तरिक छलफल जारी रहेको बताएका छन् ।
प्रकाशित मिति: ४ असार २०७३, शनिबार ०७:४६