नेपालगन्ज, ३ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सस्तो लोकप्रियता प्राप्तिको दिशामा वर्तमान सरकार क्रियाशील देखिएको टिप्पणी गरेका छन् ।
आज बिहान नेपालगन्ज विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उनले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाई सरकारले सम्बोधन नसकेको आरोप लगाए ।
“जनताको परिवर्तनप्रतिको चाहना र भावना बुझेर सरकारले काम गर्नुपर्ने सुझाव दिँदै सभापति देउवाले संविधानको कार्यान्वयनमा आफ्नो दल सधैँ एक पाइला अघि रहन्छ भने ।
काँग्रेसको प्राथमिकता संविधानको कार्यान्वयन
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारमा आफ्नो दल सहभागी नहुने स्पष्ट पारे ।
प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने—“काँग्रेसको पहिलो प्राथमिकता संविधानको सफल कार्यान्वयन भएकाले सरकारमा जान हामीलाई हतार छैन ।”
सरकारले भनेजस्तो स्थानीय निकायको संरचनासम्बन्धी आयोगको म्याद नै आगामी फागुनसम्म रहेकाले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्न सम्भव छैन भने ।
सरकारले मङ्सिरमा चुनाव गरायो भने काँग्रेस निर्वाचनमा सहभागी हुन्छ कि हुँदैन रु भनी पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनको भनाइ थियो—‘कि सरकारले निर्वाचनसम्बन्धी आयोग खारेज गर्नु पर्यो कि निर्वाचनको मिति सार्नु पर्यो, अनि मात्र चुनावको औचित्य पुष्टि हुन्छ ।’
अर्को एक प्रश्नको जवाफमा उनले संविधानको सफल कार्यान्वयन तब मात्र सम्भव छ जब स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचन हुन्छ भने
सभापति देउवाले मधेसी मोर्चा र आन्दोलनमा रहेका अन्य घटकसँग सरकारले औचित्यपूर्ण वार्ता गर्नुपर्ने सुझाव दिँदै त्यसमा आफ्नो दलको समन्वयकारी भूमिका रहन्छ भने । रासस