काठमाडौँ, २ असार । नेपालमा खनिज नीति नभएकाले भूगर्भभित्रका खानीको अध्ययन, अनुसन्धान र अन्वेषण गर्न असहज भएकामा भूगर्भविद्ले जोड दिएका छन् ।
उद्योग मन्त्रालय, खानी तथा भूगर्भ विभाग र त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्र केन्द्रीय विभागले आज कीर्तिपुरमा संयुक्तरुपमा आयोजना गरेको ‘खानी तथा भूगर्भ विभागको जनशक्ति आवश्यकता र त्रिविको भूगर्भ शास्त्र पाठ्यक्रम’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले नीतिको आवश्यकतामाथि जोड दिएको थियो ।
कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेले विश्वविद्यालय नीति निर्माणको थलो पनि भएकाले खनिजसम्बन्धी नीति निर्माणमा प्राध्यापकको सहयोग लिइने बताए । “मुलुकको नीति निर्माण राजनीतिज्ञले मात्र गर्न सक्दैनन्, शैक्षिक ज्ञान भएका प्राध्यापकको पनि नीति निर्माणमा सहभागिता हुनुपर्छ”– उनले भने ।
पृथ्वीभित्र खनिज पदार्थ भएकाले देशको भू–भागमा कति खनिज पदार्थ छ भन्ने अध्ययन गरिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । ३०० वर्ष पहिले दैलेखमा भुरे राजाले पेट्रोलियम पदार्थ छ भनी पत्ता लगाएका थिए । अन्य स्थलमा पनि विभिन्न खानी भएका तथ्य आएकाले अब तिनको अन्वेषण गरिनुपर्ने उनले बताए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाँले नेपालमा खनिज पदार्थ उत्खनन गर्न नीतिको अभाव भएको हो वा जनशक्तिको भन्ने निक्र्यौल गरिनुपर्ने बताए । “विश्वविद्यालय खनिज पदार्थ उत्खनन गर्न शैक्षिक जनशक्ति प्रयोग गर्न तयार छ, अहिलेसम्म नेपालको भौगर्भिक नशाङ्कन भएको छैन, पहिले यो गरिनुपर्छ”– उनले भने ।
शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले खनिज पदार्थको उत्खननका लागि मन्त्रालय र विश्वविद्यालयका बीचमा सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायकी डीन चिरिकशोभा ताम्राकार, खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्र खनाल, प्राडा प्रकाशचन्द्र अधिकारी, वरिष्ठ खानी इन्जिनियर जयराम घिमिरे, डा रञ्जनकुमार दाहाल, डा प्रेम थापालगायतका वक्ताले खनिज पदार्थको उत्खननका लागि नीति नभएकाले पहिले नीति निर्माण गरिनुपर्ने बताए ।
कार्यक्रममा विश्वविद्यालय भूगर्भशास्त्र विभागका प्रमुख प्राडा लालुप्रसाद पौडेलले त्रिविको भूगर्भ शास्त्र पाठ्यक्रम र विभागका उपमहानिर्देशक डा सोमनाथ सापकोटाले खानी तथा भूगर्भ विभागको जनशक्ति आवश्यकता विषयमा प्रस्तुतीकरण गरेका थिए । रासस