सुर्खेत, २ असार ।
विहान सबेरै उठेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययन गर्न पुग्ने बसन्ती शाही संधै झै विहीबार पनि ६ बजे नै विश्वविद्यालय पुगिन् । विहानै विश्वविद्यालय पुग्ने र अध्ययन गर्ने बसन्तीको दैनिकी नै हो । सुरुमा मध्यपश्चिम विश्वविद्यालयमा पढ्न पाउँदा बसन्ती निकै खुशी पनि थिइन, तर आजभोली भने उनी खुसी छैनन् ।
सुरु–सुरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पढ्न पाउँदा दैलेख घर भएकी बसन्तीलाई छुट्टै खालको खुशीको अनुभूति हुन्थ्यो । विश्वविद्यालय बारे जति कल्पना गर्थिन, त्यो भन्दा भिन्दै रहेको बसन्तीलाई अनुभव हुने गरेको छ, आजभोली । सोचे भन्दा फरक पाइन् , मध्यपश्चिमाञ्चल विश्वविद्यालय ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भर्ना हुँदा बसन्तीले धेरै सपना देखेकी थिइन् पढेर राम्रो प्रगति गर्ने तर उनको त्यो सपना र उनले भोगेको विपनामा फरक हुन गयो । बसन्तीले भनिन्, ‘मैले धेरै सपना बोकेर आएकी थिए, मलाई लाग्थ्यो मैले भने अनुसार पढाई होला तर त्यसको ठीक विपरित मैले पाए ।’
‘पढम भने पुस्तकालयमा पुस्तक छैन, शिक्षकहरु पनि समयमा पढाउन आइदिनु हुँदैन ।’, बसन्तीले भनिन्, ‘हामी ग्रामीण विकास पढ्ने विद्यार्थी भएकाले फिल्ड भिजिट जानु पर्ने हो तर अहिलेसम्म भएन’ बसन्तीले यसो भन्दै गर्दा उनको अनुहारमा एउटा बेग्लै खालको निराशा झल्किन्थ्यो ।
बसन्ती जस्तै कालीकोट घर भएका गणेश विष्टलाई पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पढाइ पहिला भन्दा अहिले खस्कदै गइरहेको अनुभूति हुन थालेको छ । उनकोे चाहना थियो, पठनपाठनमा कुनै किसिमको बाधा नआओस, शिक्षकले तोकिएको समय अनुसार विद्यार्थीहरुलाई पढाउन सकुन र पढ्ने वातावरण पनि सुविधाजनक बनोस् भन्ने । विश्वविद्यालयमा कुनै प्रकारको तालावन्दी, झैझगडा नहोस तर गणेशले सोचे जस्तो वातावरण अझै हुन सकेको छैन । उनको आशा छ, पढ्नका लागि पुस्तकालयमा पुस्तक पाइयोस्, तालाबन्दी नहोस् । विष्टले विश्वविद्यालय प्रशासनसँग यस्तै वातावरणको अपेक्षा गरेका छन् ।
बसन्ती र गणेश जस्ता अन्य विद्यार्थीको चाहना पनि यस्तै छ ता की उनीहरुको पढाइमा कुनै किसिमको बाधा नआओस, शिक्षकले समय अनुसार विद्यार्थीहरुलाई पढाउन सकुन र विश्वविद्यायलयको वातावरण पनि सुविधाजनक बनोस् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पढ्न वातावरण पाउने वातावरणको सृजना नहुनु र वेलाबखतमा राजनीतिक भागबण्डाले उत्पन्न विवादका कारण हुने तालाबन्दी र आन्तरिक लडाइ नै विश्वविद्यालयको प्रगतिको वाधक नबनोस् भन्ने विद्यार्थीको चिन्ता हो ।
यता मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका प्राज्ञिक निर्देशक आन्नदप्रसाद सुवेदी बीचमा विद्यार्थीको उपस्थिति कम भएपनि पछिल्लो समयमा बढ्न थालेको बताउँछन् । उनी भन्छन्, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएको सालमा विद्यार्थीको आर्कषक उपस्थिति थियो, बीचमा आन्तरिक कारण र विद्यार्थीहरुमा सेमेस्टरको प्रणलीलाई नबुझेर पनि होला विद्यार्थीहरु घटेको अवस्था थियो ।’
प्राज्ञिक निर्देशक सुवेदी मध्यश्चिमाञ्चल विश्वविद्यालयमा तालावन्दी गरेर विद्यार्थीहरुको पढाइमा कुनै खालको बाधा नपरेको निर्देशक सुवेदीले बताए । उनले भने ‘विश्वविद्यालयले १२ प्रतिशत छात्रवृत्ति लिङ्ग, जातीयता र भौगोलिक आधारमा दिने व्यवस्था गरेका छौ ।’
व्यवस्थापन संकायका निर्देशक वीरबहादुर पौडेल व्यवस्थापन संकायमा पहिलो ब्याजमा विद्यार्थीको उपस्थिति राम्रो भएपनि बीचका वर्षमा घटे र अहिले भने वृद्धि भइरहेको बताए । उनले सुर्खेत उपत्यकामा अरु क्याम्पस खुलेका कारण विश्वविद्यालयमा विद्यार्थीहरु घटेको हुन सक्ने बताए । विश्वविद्यालयमा हुने तालाबन्दी जस्ता समस्याले पनि विद्यार्थी घटेको हुन सक्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: २ असार २०७३, बिहीबार १६:२३