सिन्धुली, २ असार । वैशाखदेखि दैनिक दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त प्रयासमा बुधबारदेखि ‘टाइम कार्ड’ लागू गरिएको छ ।
टाइम कार्ड लागू गरिएपछि ८० प्रतिशत दुर्घटना घट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको अनुमान छ । बुधबारदेखि मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक ईश्वरी चापागार्इंले ना १ ज ५८२७ नंको टाटा सुमोका चालक चित्रबहादुर आलेलाई टाइम कार्ड प्रदान गरेका थिए ।
यातायात व्यवसायी र स्थानीय प्रशासनको संयुक्त प्रयासमा कुलेखानीमा लागु गरिएको टाइम कार्डले सडक दुर्घटना ८० प्रतिशत घटाएकाले अब सिन्धुलीमा पनि दुर्घटना ८० प्रतिशत नै घट्ने चापागाईंले बताए ।
चालकले लेनअनुसार सवारी नचलाउँदा पनि दुर्घटना हुने भएकाले लेनअनुसार सवारी चलाउन उनले चालकलाई आग्रह गरे । टाइम कार्ड लागू भएपछि अब साना सवारीसाधनले भिमानदेखि शिवनगर १८ किमी ३५ मिनेटमा, शिवनगरदेखि खुर्कोट ३९ किमी एक घन्टा ४० मिनेटमा र खुर्कोटदेखि नेपालथोकसम्मको ३८ किमी दूरी एक घन्टा १५ मिनेटमा पार गर्नुपर्ने भएको छ ।
यस्तै ठूला सवारीसाधनले भिमानदेखि शिवनगर १८ किमी एक घन्टा, शिवनगरदेखि खुर्कोट ३९ किमी दुई घन्टा र खुर्कोटदेखि नेपालथोकसम्मको ३८ किमीको दूरी दुई घन्टा ४० मिनेटमा पार गर्नुपर्ने भएको छ ।
यदि सो समयको पालना नगरिएमा हरेक जाँचचौकीमा रु एक हजार जरिवाना गरिने जिल्ला ट्रफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज बद्रीप्रसाद पुडासैनीले जानकारी दिए । कार्ड छपाइ गर्न प्रतिकार्ड रु पाँच पर्ने भएकाले हरेक सवारीसाधनले प्रतिकार्ड रु पाँच तिर्नुपर्ने उनको भनाइ छ । रासस