सुर्खेत, १ असार ।
विस्थापित शिविरमा वुधबार एका बिहानै बाढीपीडित कमला परिवार आफ्नो बच्चाको स्याहार सुसार गर्दै थिइन् । एकातिर घरबारी गुमेको चिन्ता त अर्कोतिर साँझ विहानको छाक टार्ने चिन्ता । बालबच्चा हुर्काउने त एउटी आमाको जिम्वेवारी नै हो ।

आखाँको डिलभरी आँशु बनाएर बच्चा काखमा राखेकी कमलालाई पुनर्वास हुने आशा आशामै सिमित भयो, दुई वर्ष वित्न लाग्यो तर पनि कमलाको परिवारले राहात पाउने अझै संकेत छैन् । बाढीको चपेटामा परेर विस्थापित भएकी उनीले शिविरमै पनि असुरक्षित भएको महसुस गर्न थालेको बताउँछिन् ।
उनी भन्छिन्, ‘बस्ने पाल दुई रुख मूनि छ, वर्षा आउन लागि सक्यो हावाहुरी आउँदा कतै रुख ढल्छ की भन्ने डर लागिरहन्छ ।’ कमलाले अगाडि भनिन्, ‘म छोराछोरी जोगाउने की पाल जोगाउने, शिविरमा बस्न पनि गाह्रो छ, सरकारले अहिलेसम्म हेरेन ।’
कमला जस्तै बाढीको पींडा भोग्दै आएको बिमला दमाईको समस्या पनि कम छैन् । प्वाल परेको पालवाट बाहिर निस्कदै गरेकी बिमलाले भनिन्, ‘सरकारले पैसा नदिएर घडेरी दिएको भएपनि यहाँ छोडेर जाने थियौ, घर बनाउन नसक्ने भएकाले सरकार कै आश मानेर बस्नु परेको छ ।’
अर्की बाढीपीडित रामकुमारी खत्रीको पनि पालमा बस्नु पर्दाको पींडा कम छैन् । आखाँभरी आशु झार्दै रामकुमारीले भनिन्, ‘सरकारले दिएको ५० हजार राहात पनि तीन महिना भएको बन्द हड्तालमा मै सकियो, तर बस्ने बासको जोहो भएन ।’
बाढीपीडित रामकुमारी सरकारले जग्गा र बस्ने बास बनाउनका लागि पुग्ने रकम दिएको भए पुनर्वास हुन सकिने बताइन् । उनले सरकारले बाढीपीडितको समस्या सुनुवाई नगरेको गुनासो गरिन् । रामकुमारीले भनिन्, ‘जबसम्म सरकारले जग्गा किन्न र घर बनाउन सक्ने जती पैसा दिदैन तबसम्म यहाँबाट कतै जानेवाला छैनौ ।’ उनले थपिनन्, ‘न घर छ न जग्गा छ, जाने हो त कहाँ जाने हो । सरकारले छानवीन गरेर दिन्छु भन्छ खोई अहिलेसम्म केही गरेको छैन ।’
०७१ साल साउनमा आएको वर्षाले कमला, बिमला र रामकुमारी जस्ता धेरै जना सुर्खेतमा विस्थापित भएका छन् । बस्ने घरवारी बाढीले बगाएर लगेको छ भने अहिले घर उनीहरुका लागि सपना बनेको छ । बाढीपीडित मध्ये केही परिवार अहिले वीरेन्द्रनगर नगरपालिका–१० खजुरा स्थित महिला प्रशिक्षण केन्द्रको परिसरमा बस्दै आएका छन् ।
महिला प्रशिक्षण केन्द्रको परिसरमा रहेका धेरै जसो बाढीपीडितले शिविर छोडेपनि सरकारले दिएको राहातले घरवासको जोहो गर्न नसकेका र केही राहात नै नपाएका गरी ३२ घरपरिवार अहिलेपनि महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका छन । महिला प्रशिक्षण केन्द्रमा खोर्केखोला र इत्रामका बाढीपीडितहरु बस्दै आएका ह्न् । दूई वर्ष वित्न लागेको अवस्थामा समेत सरकारले विस्थापितलाई पुनर्वास गराउने काम पुरा गर्न सकेको छैन् । 
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हितप्रसाद पौडेल विस्थापित बाढीपीडितको लागि पुनर्वासको चरणमा रहेको बताए । उनले सुर्खेत जिल्ला भरी पूर्ण घर क्षति भएका १४ सय ६५ घरपरिवार रहेको जानकारी दिए ।
पूर्ण घर क्षति भएका मध्ये ९ सय ७१ जनालाई पुनर्वासको लागि जिल्ला दैविक प्रकोप उद्धार समितिले निर्णय गरिसकेको प्रशासकीय अधिकृत पौडेलले बताए ।उनले अहिलेसम्म १ सय ४० घरपरिवारलाई नेपाल रेडक्रसले पुनर्वासको व्यवस्था गरेको र ४५ घरपरिवारलाई कारीतास नेपालको सहयोगमा नवज्योति केन्द्रले पुनर्वास गरेको जानकारी दिए ।
विस्थापित मध्ये १ सय २८ घरपरिवारले पुनर्वासका लागि अनुदान नपाएको सूचना अधिकारी पौडेलले बताए । उनले नेपाल सरकारले गरेको निर्णय बमोजिम विस्थापित बाढीपीडितलाई रकम उपलब्ध गराइने जानकारी दिए । बजेट नआएका कारण अनुदान नपाएका पुनर्वासका लागि विस्थापित घरपरिवारलाई रकम उपलब्ध गराउन नसकेको उनको भनाई छ ।
प्रकाशित मिति: १ असार २०७३, बुधबार १७:१३