(शर्मिला पाठक)
काठमाडौँ, ३२ जेठ । भूकम्प गएको एक वर्ष बितिसक्दा पनि महानगरका अधिकांश सम्पदाको पुनःनिर्माण सुरु हुन सकेको छैन ।
काठमाडौँ महानगरपालिकाका अनुसार पुरातात्विक सम्पदाको पुनःनिर्माणको काम गर्दा पुरातत्व विभागसँगको अनुमतिबिना काम सुरु गर्न नसक्ने भएकाले कामले गति लिन नसकेको हो ।
“सरकारले सम्पदाको पुनःनिर्माणलाई विशेष प्राथमिकतामा राखेपनि पुरातत्व विभागले एक वर्ष बितिसक्दा समेत अनुमति नदिएकाले काम हुन नसकेको हो ।” कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने । आगामी आवका लागि जारी गरिएको बजेटमा पनि पुनःनिर्माणलाई प्राथमिकतामा राखेको छ, तर पनि काम हुन नसक्नु दुःखको कुरो हो प्रमुख कार्कीले भने ।
महानगरले सम्पदा निर्माणका लागि पुरातत्वलाई घच्घचाइरहेको भए पनि विभागबाट प्रतिक्रिया आएको छैन । विभागले पुनःनिर्माणका लागि अनुमति दिएसँगै कामपाले सम्पदा निर्माणको कामलाई तीव्रताको साथ अघि बढाउँने उनले बताए ।
कार्कीका अनुसार महानगरभित्रका सम्पदासम्बन्धी कुनै पनि कार्यका लागि पुरातत्व विभागको स्वीकृति चाहिन्छ । हालसम्म सिंहदरबारकै पुनःनिर्माण हुन सकेको छैन । त्यस्तै, हनुमानढोका, धरहरालगायतको पुनःनिर्माण पनि कुरामा मात्र सीमित भइरहेको छ ।
महानगरभित्रका सम्पदा पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन तयार गर्ने तथा बजेट तयार गर्नुपर्छ । कामपाअन्तर्गतका सम्पदा पुनःनिर्माण पनि पुरातत्व विभागले स्वीकृति नदिएकै कारण अगाडि नबढेको बताइएको छ ।
त्यसोत कामपाको पुरानो भवनको पुनःनिर्माणमा समेत विवाद आएको छ । महानगरले सो भवनलाई भत्काएर सोहीअनुरुपको अर्को नयाँ भवन निर्माण गर्ने निर्णय गरेको थियो । महानगरले नयाँ भवन बनाउन डिजाइन समेत तयार गरिसकेको उनले जानकारी दिए ।
पुरातत्व विभागले बागदरबारमा रहेको सो भवन भत्काउन नदिने भएपछि काम रोकिनुका साथै कामपाका सबै विभाग भाडामा बसेर नागरिकलाई सेवा दिन बाध्य भएका छन् ।
पुरातत्व विभागले कामपालाई पठाएको पत्रमा संरचनाको अवस्था हेरी आवश्यकताअनुसार मजबुतीकरण गर्ने भनेको छ । त्यस्तै, संरचनाको बाहिरी, भित्री खुल्ला ठाउँमा थप कुनै संरचना निर्माण नगर्ने, राणाकालीन वास्तुकला, प्रविधि, वास्तुकृति र स्वरुपको मौलिकतालाई कायम राख्ने सो पत्रमा उल्लेख छ ।
पुरातत्व विभागले बागदरबारको अस्तित्व जोगाउन भन्दै भवन यथावत राखी मर्मत सम्भार गर्ने भनेको छ । कामपाले भने बागदरबार कार्यालयका लागि पनि उपयुक्त नभएकाले नयाँ डिजाइनमा निर्माण गर्ने भन्दै आएको छ ।
पुरातत्व विभागले राणाकालीन वास्तुकलाको संरक्षण गर्ने भन्दै सो भवन भत्काउने स्वीकृति नदिएको हो । प्रत्येक सम्पदाको पुनःनिर्माण गर्दा माटो निकाल्नेदेखि सबै काममा पुरातत्व विभागको स्वीकृति लिनुपर्ने हुन्छ । पुरातत्वले स्वीकृति दिन ढिलाइ गर्दा काम सुस्त भएको हो । रासस
प्रकाशित मिति: ३२ जेष्ठ २०७३, मंगलवार ०८:३७